संघीय सरकारमातहत देशभर १५ वटा अस्पताल छन् । तीमध्ये अधिकांशमा तीन सयभन्दा बढी शय्या छन् । विपन्न, असहाय र अशक्त बिरामीले सेवा लिने ती अस्पतालका औसत ४४ दशमलव ३६ प्रतिशत शय्या भने वर्षभरि खाली रहन्छन् । शय्या खाली भएर के भो त, कर्मचारीले सधैँ भरिएको बताउँछन् र विपन्न बिरामी महँगा निजी अस्पतालतिर दौडिन बाध्य हुन्छन् ।
देशभरका १५ वटा सरकारी अस्पतालमा चार हजार तीन सय ३७ वटा शैय्या छन् । तीमध्ये एक हजार नौ सय २४ वटा शय्या वर्षैभरि खाली देखिएका छन् । ५५ दशमलव ६४ प्रतिशत शय्या मात्र भरिएको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २५–२९ मंसिरमा सम्पन्न वार्षिक समीक्षामा प्रस्तुत तथ्यांकमा यो तथ्य देखिएको छ ।
सरकारी अस्पतालमा शय्या नपाएर बिरामीहरू निजीमा जानुपर्छ । नत्र महिनौँसम्म शय्या पाउने आशामा पर्खिनुपर्छ । मन्त्रालयका अनुसार संघीय अस्पतालमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र गजेन्द्रनारायण सिंह अस्पतालका शय्या शतप्रतिशत खाली रहन्छन् । दुवै अस्पतालले बिरामी भर्नाको खाली तथ्यांक पठाएका छन् । बाँकी १३ वटा अस्पतालका शय्या औसतमा ६४ प्रतिशत मात्रै भरिएको तथ्यांकले देखाउँछ ।

पाटन मानसिक अस्पतालमा भने सबै शय्या भरिभराउ रहन्छन् । अस्पतालका चिकित्सक डा. अनन्त अधिकारीका अनुसार शय्या संख्या कम र बिरामी बढी भएकाले कुनै दिन शय्या खाली हुँदैनन् । पाटन अस्पतालमा ५० शय्या मात्र छन् । ‘बिरामी दिनप्रतिदिन बढिरहेका छन्, शय्या संख्या अहिलेसम्म बढ्न सकेको छैन,’ डा. अधिकारीले भने, ‘त्यसैले शय्या पाउन सक्ने अवस्था छैन ।’
०३५ मा वीर अस्पतालमै मानसिक बिरामीको उपचार हुन थालेको थियो । ०४० देखि वीर अस्पतालबाट अलग्गिएर लगनखेलमा मानसिक स्थापना भएको हो । त्यसवेला ५० शय्याबाट सुरु भएको अस्पताल अहिलेसम्म पनि ५० शय्यामै सीमित छ । त्यसैले पाटन अस्पतालमा शय्या खाली रहन पाउँदैनन् । ‘जनसंख्या र रोग तीव्र गतिमा बढ्यो, तर अस्पतालका शय्या ३७ वर्षमा पनि बढेनन्,’ डा. अधिकारीले भने, ‘एक सातासम्म होटेलमा बसेर पनि बिरामीले शय्या पर्खिने गरेका छन् ।’
यस्तै, सबैभन्दा कम बिरामी भर्ना हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल हो । सरुवा रोग अस्पताल भएकाले त्यहाँ अधिकांश शय्या खाली नै हुन्छन् । यो अस्पतालमा एक सय शय्या छन् । ३९ प्रतिशत शय्या मात्र वर्षभरि भरिने अस्पतालले जनाएको छ ।
देशको पहिलो र ठूलो सरकारी अस्पताल वीरका शय्या पनि अधिकांश समय खाली रहने गरेको पाइएको छ । चार सय ६० शय्या रहेको वीरमा ५४ प्रतिशतभन्दा बढी कहिल्यै नभरिने गरेको मन्त्रालयको तथ्यांकले देखाएको छ । वीर अस्पताल निर्देशक डा. केदारप्रसाद सेन्चुरी भने यस वर्ष कोभिड–१९ महामारीका कारण शय्या धेरै खाली देखिएको हुन सक्ने बताउँछन् । डा. सेन्दचुरी भन्छन्, ‘आइसियू र सिसियू सधैँ भरिभराउ रहन्छन् । शय्या नभएर बिरामीलाई अन्यत्र रिफर गर्नुपर्छ । वीरले बिरामी भर्ना गरेन भन्ने गुनासा धेरै आइरहेका हुन्छन् । कोरोनाका कारण बिरामी नआएका महिनाको तथ्यांक जोडिएर बढी खाली देखिएको हुन सक्छ ।’
वीर अस्पतालमा विपन्न र मध्यम वर्गका बिरामी आउँछन् । सेवाग्राहीका अनुसार अन्य अस्पतालभन्दा वीरमा सेवा पाउन बढी समय कुर्नुपर्ने भएकाले बिरामी भर्नामा कम देखिएको हो । डा. सेन्चुरी पनि निजीमा छिटोछरितो सेवा पाइने आशामा बिरामीहरू त्यतै आकर्षित भएको हुन सक्ने बताउँछन् ।
यस्तै, कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार आकस्मिक कक्षका शय्या सधैँ भरिँदैनन् । र, आगोमा जलेका बिरामीको उपचार गर्ने वार्ड पनि भरिँदैन । सर्जरी वार्ड पनि खाली रहन्छ । शल्यक्रियाका लागि लामो लाइन भए पनि सर्जरी वार्ड पूर्ण रूपमा भरिएको हुँदैन । डा. पौडेलका अनुसार क्याबिन पनि सधैँ भरिभराउ रहँदैन । ‘गर्मीयाममा बिरामी धेरै आउँछन्,’ उनी भन्छन्, ‘यो रिफरल अस्पताल भएकाले देशभरबाट बिरामी यहाँ आउँछन् । सोहीकारण आइसियू, पिआइसियू सधैँ भरिन्छन् ।’
सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुका बिरामीको मात्र उपचार हुन्छ । अन्य समस्याका बिरामीहरू नआउने भएकाले शय्याहरू पूर्ण रूपमा नभरिएको अस्पतालको भनाइ छ । यस वर्ष कोभिड–१९ महामारीका कारण शय्याहरू अपेक्षाकृत नभरिएको अस्पतालले जनाएको छ ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका लेखा प्रमुख चन्द्रबहादुर गुरुङले बिरामी भर्नालाई सहज बनाउन शय्याहरू खाली राख्ने गरिएको बताए । ‘सबै शय्या भरिएको अवस्थामा अरूले सेवा पाउँदैनन्, बिरामी आउने र जाने चलिरहन्छ,’ उनले भने, ‘सुविधायुक्त शय्याहरूमा बिरामीको रुचि हुने भएकाले सामान्य शय्या खाली रहने गर्छन् ।’