चार वर्षमा पनि बनेन नम्डोललिङ एकीकृत बस्ती

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

चार वर्ष बितिसक्दा पनि मेलम्ची नगरपालिका–१२ गिरानचौरमा निर्माणाधीन नम्डोललिङ एकीकृत बस्ती निर्माण सम्पन्न हुन सकेको छैन । ०७३ देखि सुरु भएको नम्डोललिङ एकीकृत बस्ती आर्थिक समस्याका कारण निर्माण रोकिएको हो । 

सरकारी नियम पालना गरेर जिल्लामा स्थापना भएका २८ एकीकृत बस्ती बनेका छन् । अधिकांशको निर्माण कार्य लगभग पूरा भइसकेको छ । तर, ४५ रोपनी क्षेत्रफलमा फैलिएको सो बस्ती पूरा हुन सकेको छैन । यहाँका ६२ घर सबै चार कोठाका ढलान गरिएका पक्की भवन हुन् । सबै घरमा पुग्ने बाटो ६ मिटरको छ । बिजुलीबत्ती र खानेपानीको सुविधा पुर्याइएको छ । ढलान गरिएका लोभलाग्दो चिटिक्क घरमा बस्ने भूकम्पपीडितको सपना भने अझै पूरा भएको छैन । 

सरकारले दिने अनुदानमा चौधरी ग्रुपको सामाजिक संस्था सिजी फाउन्डेसनले साथ दिएर ढलानघर निर्माण गरिएको हो । सबै घर ढलान भएर ठडिए पनि निर्माणको अन्य काम बाँकी रहेकाले भूकम्पपीडित अझै जस्तापाताको अस्थायी टहरामा बसिरहेका छन् । सिजी फाउन्डेसनले एकीकृत बस्तीलाई आवश्यक पर्ने दुई लाख इन्टरलक इँटा, सिमेन्ट, रड र अन्य प्राविधिक सहयोग गरेको हो । सिजीले एकीकृत शौचालय र लिफ्ट प्रणालीमार्फत खानेपानी पनि उपलब्ध गराएको छ । 

‘सरकारले दिने अनुदानमध्ये अन्तिम किस्ता ६२ लाख भुक्तानी हुन बाँकी रहेकाले बस्तीको फिनिसिङ पूरा हुन सकेको छैन,’ नम्डोललिङ एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिका अध्यक्ष श्रीलामा कर्मले भने, ‘रंगरोगनसहित फिनिसिङ गर्न रकम अभाव भएकाले भूकम्पपीडितलाई बस्ती हस्तान्तरण गर्न सकिएन ।’ 

जग्गा व्यवस्थापनमा समस्या देखिएको उनले सुनाए । समितिको नाममा रहेको एकीकृत बस्तीको घरजग्गा व्यक्तिको नाममा कित्ताकाट गरेर वितरण गर्न निकै झन्झट रहेको र सरकारी निकायले समस्यामा पार्ने गरेको उनले दुःखेसो पोखे । अनुदान लिँदा, व्यक्तिको नाममा रहेको जग्गा समितिमा ल्याउँदा र गुरुयोजना बनाउँदा दुई वर्ष बितेको थियो । सरकारी अनुदानको रकम बालुवा, गिट्टी, ढुंगा, काठ र बस्ती प्रवेश गर्ने सडक ढलान गर्न खर्च भएको र घर फिनिसिङ गर्ने रकम अभावले बस्ती निर्माण अपूरो रहेको अध्यक्ष लामाले बताए ।

सुझावित समाचार