राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भएको निष्कर्ष निकालेको छ । आइतबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्य व्यवस्थापन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेको निष्कर्ष निकालेको बताए ।
उनले भने, ‘जुनसुकै लोकतान्त्रिक व्यवस्थामा पनि संविधानले कार्यकारीको अधिकारमाथि विभिन्न बारबन्देजहरू लगाएको छ । त्यो बारबन्देजभित्र रहेर कार्यकारीले काम गर्नुपर्ने हुन्छ । अहिले प्रधानमन्त्रीले ती बारबन्देज सबै तोड्नुभएको छ । संविधानले नदिएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने काम राष्ट्रपतिको सहमतिमा भएको छ त्यो असंवैधानिक हो, अलोकतान्त्रिक हो र प्रतिगामी छ ।’
राप्रपाले सरकारको यो कदमलाई आगामी संघर्षका कार्यक्रममा मुख्य एजेन्डाका रूपमा लिएर जाने पनि उनले बताए । उनले भने, ‘हाम्रा विरोध कार्यक्रमहरू छँदै छन् । त्यसमा पनि मुख्य एजेन्डाका रूपमा लिएर जान्छौँ । त्यो प्रतिगामी कदम हो । अलोकतान्त्रिक कदम हो र यसले गर्दा यो संविधानलाई असफल बनाउने दिशामा उहाँहरू हिँड्नुभएको छ । देशलाई अराजकतातिर र अशान्तिको बाटोमा लिएर जान खोज्नुभएको छ । त्यसैले एउटा समय आएको छ, अब हामी सबै दलहरू बसेर यो संविधानका कमजोरीहरू के–के हुन्, जुन कुरा राप्रपाले विभिन्न समयमा भनिराखेको थियो, त्यसबारे पनि छलफल गरेर निचोडमा पुग्नुपर्छ ।’