उखु बिक्रीबापतको भुक्तानी पाउन चार दिनदेखि आन्दोलनरत गरिब किसानका माग पूरा गर्न कांग्रेसले माग गरेको छ । ‘कृषकको उखुको मूल्यको बक्यौता रकम चुक्ता गराउन सरकारले प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौँ,’ कांग्रेस संसदीय दलको कृषि तथा पशुपन्छी मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले भने ।
चौधरीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंको चिसो भुइँमा आन्दोलन गरिरहेका उखु किसानका मागबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘विगतमा सरकारी रोहवरमा कृषक र उद्योगीबीच भएको सहमति हालसम्म कार्यान्वयन भएको छैन, विभिन्न समयमा राष्ट्रपतिदेखि सरकार र सरोकारवालासमक्ष हारगुहार गर्दा पनि उखु कृषकले आफ्नो पसिनाको मूल्य नपाउनु र बारम्बार काठमाडौं आई आन्दोलन गर्न बाध्य हुनु अत्यन्त अन्याय र दुःखद पक्ष हो,’ उनले विज्ञप्तिमा भनेका छन् ।
सरकारले आफ्नो रोहवरमा भएको सहमतिलाई कार्यान्वयन गराउन नसक्नु अत्यन्तै लज्जास्पद विषय भएको कांग्रेसको ठहर छ । बुधबार बसेको कांग्रेस पदाधिकारीको बैठकमा समेत नेताहरूले उखु किसानका माग पूरा गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेका थिए । अघिल्लो दिन प्रवक्ता शर्माले माइतीघर पुगेर किसानको आन्दोलनमा कांग्रेसको ऐक्यबद्धता जनाएका थिए ।