कांग्रेसका नेता गगन थापाले संसद् अधिवेशन बोलाउनका लागि निवदेन दिन पार्टी सभापतिलाई अनुरोध गरेका छन् ।
कांग्रेसको पदाधिकारी बैठक बस्नुअघि सामाजिक सञ्जालमा लेख्दै नेता थापाले संविधानको धारा ९३(३) अनुसार संसद् अधिवेशनका लागि आजै निवेदन दिन अपिल गरेका हुन् ।
‘पार्टी बैठकमा हामीले भनेका थियौँ, बरालिएका केपी ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौँ, उपसभामुख नभएसम्म संवैधानिक परिषद् बैठकमा नजाऔँ, संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौ,’ उनले लेखेका छन्, ‘यी विषयलाई त्यो वेला मनन नगर्दा आजको परिस्थिति आएको छ।’
थापाले उपसभामुखको निर्वाचन नगरेसम्म संसद्को गतिविधि ठप्प पार्नसमेत अपिल गरेका छन् । ‘उपसभामुखविनाको संवैधानिक परिषद् बैठक अस्वीकार गरौँ। संसद् र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौँ,’ थापाको अपिल छ ।