नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसद्लाई छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका छन् । उनले सरकारले मंगलबार दिउँसो जारी गरेको अध्यादेशप्रति कांग्रेसको प्रस्ट विमति रहेको प्रस्ट पारेका छन् ।
देउवाले सरकारको यो कदमले सर्वसत्तावादी सोच झनै प्रस्टिएको बताए । ‘उपसभामुख पद खाली राखेर, सभामुखजस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद छ,’ मंगलबार बिहान बैठकका लागि बालुवाटार पुगेर फर्किएका देउवाले ट्विट गर्दै भनेका छन्, ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ, यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ, यसमा नेपाली कांग्रेसको प्रस्ट विमति छ ।’