‘विश्वमा ६ प्रकारका कोभिड भाइरस, हरेकको लक्षण छुट्टाछुट्टै’

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

लन्डनमा कोभिड भाइरसको नयाँ संस्करण पत्ता लागेको छ । एक हजारभन्दा बढी केस देखिएको लन्डनमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पहिले नै कोभिडबारे नयाँ किसिमको जानकारी दिएको थियो । कोभिड भाइरसका विभिन्न प्रकारअनुसार शरीरमा भिन्नभिन्न प्रभाव पारे पनि अन्यभन्दा पछिल्लो समय पत्ता लागेको भाइरसले गम्भीर समस्या निम्त्याउने सम्भावना नरहेको डब्ल्युएचओले जनाएको छ । 

कोरोना भाइरस संक्रमणका कारण विश्वभर १६ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । तर, हालसम्म यस भाइरसको प्रकृतिबारे पूर्ण रूपमा जानकारी भेटिइसकेको छैन । विश्वभरका वैज्ञानिक र चिकित्सकहरूले यस भाइरसको प्रकृतिबारे गहिरो अध्ययन गरिरहेका छन् । बेलायतका वैज्ञानिकहरूले हालसालै प्रकाशित गरेको एक अध्ययनअनुसार विश्वमा देखिएका फरक लक्षणका आधारमा ६ किसिमका कोरोना भाइरस छन् । जुन प्रत्येक भाइरसको संक्रमणबाट मानव शरीरमा फरकफरक लक्षण देखिन्छ । 

टाइप १ : फ्लुजस्तै, तर ज्वरो नभएको
टाइप १ कोभिडमा फ्लुका लक्षण देखिए पनि ज्वरो आएको पाइँदैन । योसँगै टाउको दुख्ने, स्वाद थाहा नपाउने, मांसपेसी दुख्ने, खोकी, घाँटी दुखाइ र छाती दुख्नेजस्ता लक्षण रिपोर्ट गरिएको छ । 

टाइप २ : ज्वरोसँगै फ्लुका लक्षण
यो कोभिड भाइरसको संक्रमणबाट शरीरमा फ्लुका अन्य लक्षणहरूसँगै ज्वरो पनि देखिन्छ । टाउको दुख्ने, स्वाद थाहा नपाउने, खोकी, घाँटी दुखाइ, कमजोरी र भोक हराउनेजस्ता लक्षण देखिन्छ । 

टाइप ३ : ग्यास्ट्रोइन्टेस्टाइनल
यो किसिमको कोभिड संक्रमण हँुदा टाउको दुख्ने, स्वाद हराउने, भोक हराउने, झाडापखाला, घाँटी दुखाइजस्ता लक्षण देखिन्छन् । तर, यो खालको कोभिड संक्रमितमा खोकी भने देखिएको पाइँदैन । 

टाइप ४ : सिभियर लेभलको कमजोरीपन 
यो खालको संक्रमण हँुदा कमजोरीपन मुख्य समस्याको रूपमा देखिन्छ । साथै टाउको दुखाइ, घाँटी दुखाइ, मांसपेशी दुखाइ, ज्वरो र छाती दुख्ने समस्या हुन्छ । खासगरी यो संक्रमण देखिएका व्यक्ति गम्भीर बिरामी पर्ने गर्छन् । 

टाइप ५ : सिभियर लेभल, कन्फ्युजन
टाउको दुखाइ, घाँटी दुखाइ, मांसपेशी दुखाइ, ज्वरो र छाती दुख्ने समस्यासँगै कन्फ्युजनजस्ता मानसिक समस्या पनि देखिन थाल्छ । 

टाइप ६ : पेट र श्वासप्रश्वाससम्बन्धी
सामान्यतया संक्रमणका कारण गम्भीर बिरामी देखिएका संक्रमितमा टाइप ६ संक्रमण भएको पाइन्छ । यो सिभियर खालको संक्रमण हो । यसमा टाउको दुख्ने, स्वाद हराउने, भोक हराउने, रुघाखोकी, ज्वरो, कमजोरीपन, मांसपेशी दुखाइ, छाती दुखाइ, कन्फ्युजन, झाडापखाला, पेटमा अन्य समस्या, श्वासप्रश्वासमा समस्या देखिन्छ । 

अर्थात् प्रत्येक फरक किसिमको भाइरसको संक्रमणबाट मानव शरीरमा फरक ढंगले असर पर्ने गर्छ । चिसो मौसममा गम्भीर लक्षण देखिने संक्रमितको संख्या बढ्दै जाने र सघन उपचार आवश्यक पर्नेको संख्या वृद्धि भइरहेको छ । नयाँ अध्ययनले लक्षणका आधारमा संक्रमितको उपचार गर्न सहज हुने विज्ञहरूको अनुमान छ । 
–एजेन्सीको सहयोगमा 
 
 

सुझावित समाचार