कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उखु किसानको आन्दोलनमा कांग्रेसको ऐक्यबद्धता रहेको बताएका छन् ।
उनले उखु किसानलाई चिन्न, उनीहरूको स्वर सुन्न र मूल्य तिराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरकारका मन्त्रीले नै आन्दोलनरत किसानलाई बिचौलिया भनेर अभिव्यक्ति दिएपछि प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘हिजो यिनको भोट चिन्ने, आज यिनको अनुहार नचिन्ने ? उद्योगीले मूल्य तिर्न ढिलाइ गर्दा दबाब दिनुपर्ने सरकारको बोली लर्बरिने ?’
उद्योगमन्त्री लेखराज भट्टले सोमबार माइतीघरमा आन्दोलित किसानलाई उखु किसान नभई बिचौलिया भएको अभिव्यक्ति दिएका थिए ।
‘उखु किसान नै होइनन् यिनीहरू भन्ने जिम्मेवार मन्त्रीको यो बोली सरकारकै धारणा हो सम्मानीय प्रधानमन्त्रीज्यू ?’ शर्माले प्रश्न गरेका छन् ।
उखु बिक्रीबापतकाे रकम चिनी मिलले नदिएपछि सर्लाही, रौतहट र नवलपरासीका सयौँ किसान काठमाडौंमा आएर आन्दोलन गरिरहेका छन् ।
उखु किसान संघर्ष समितिका अनुसार देशभरका ६ वटा चिनी मिलबाट किसानले ९० करोड रुपैयाँ पाउन बाँकी छ ।