- भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन, बालुवाटार गए पुग्छ । भ्रष्टाचार खोज्न कहीँ जानुपर्दैन, सिंहदरबार गए पुग्छ । प्रधानमन्त्रीकै संरक्षण र प्रोत्साहनमा ठूलाठूला भ्रष्टाचार काण्ड भइरहेका छन् ।
- राष्ट्रपति श्री ५ बडा महारानी बन्न खोज्नुभएको हो ? राष्ट्रपति महोदय आँखा नचम्काइबक्स्योस्, हात नलम्काइबक्स्योस्, हिम्मत छ भने काठमाडौँमा चुनाव लड्न आइबक्स्योस् ।
....
नेपाल कम्युनिस्ट पार्टी भन्ने यो पार्टी नै होइन, यो लोभीपापीहरूको मञ्च मात्रै हो । राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासमा बस्नुभएको छ, महारानी होइन, राष्ट्रपति हो । तपाईं हामीले बनाएको राष्ट्रपति हो । प्रचण्ड र केपी ओलीको झगडा मिलाउने जिम्मेवारी राष्ट्रपतिको हो ? होइन । यो तामझाम चित्त बुझेको छ ? छैन । चित्त बुझेको छैन भने हिसाबकिताब गरौँ, श्रद्धेय मदन भण्डारीले बोल्नुभएको उहाँको भाषणको एउटा वाक्य उद्धृत गरेर, दोहोर्याएर भन्दै छु, राष्ट्रपति श्री ५ बडामहारानी बन्न खोज्नुभएको, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भन्दै छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्सियोस्, हात नलम्क्याइबक्योस्, हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्सियोस्, चुनाव लड्न हामीहरू तयार छौँ ।
बालुवाटारको जग्गा छोराको नाममा खर्लप्प खाने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छेचाहिँ जेलमा छ । सिफारिस गर्ने मान्छे जेलमा पुग्दा त्यसको फल खाने मान्छेचाहिँ अर्थमन्त्रीको कुर्सीमा विराजमान हुनुहुन्छ । निर्मला पन्तदेखि निर्जला चौधरीसम्मको बलात्कार र हत्याका दोषीलाई संरक्षण गर्ने गृहमन्त्री अनि स्वास्थ्य सामग्रीको खरिदमा कमिसन खाने प्रधानमन्त्रीको सबैभन्दा विश्वासपात्र स्वास्थ्यमन्त्री भएको सरकार छ यो । यो सबै कुरा प्रधानमन्त्रीको इच्छाबमोजिम चलेको छ भनेर भन्दै गर्दा त्यो गलत हुँदैन । कुनै पनि भ्रष्टाचार काण्ड प्रधानमन्त्रीले प्रोत्साहन नगरीकन भएको छैन । भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन, बालुवाटार गए पुग्छ । भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन, सिंहदरबार गए पुग्छ ।
सडकमा युवा साथीहरू राजा आऊ देश बचाऊ भन्दै छन् । त्यो तपाईंको हक हो । तपाईंको अधिकार हो । म त्यसको सम्मान गर्छु । यति सम्झाउँछु, ०५९ सालमा पनि यसैगरी सडकमा नारा लगाएका थिए । राजा आए, तर आफूलाई बचाउन सकेनन्, देश कहाँबाट बचाइदिन्थे ?
सरकार संसद्बाट भाग्यो, बालुवाटारको दुलोभित्र लुकेको सरकारलाई ललकार्नका निम्ति, बरालिएको सरकारलाई ठेगानमा ल्याउनका निम्ति कांग्रेस आज सडकमा आएको छ, अब घर फर्किएर जाँदैन । जबसम्म सरकार ठेगानमा आउँदैन, तबसम्म कांग्रेस सडकमा आइराख्छ, सडकमा आउन बाध्य सरकारले बनाएको छ ।
सरकार शक्तिशाली छ, तर जनतालाई शक्तिशाली बनाउनका लागि एउटा पनि काम गरेको छैन । देश र जनताको आकांक्षाप्रति पटक्कै पनि यसको संवेदना छैन, व्यक्तिपूजामा लागेको छ । तत्कालै गर्नुपर्ने काम गर्दैन, कहिल्यै पूरा नहुने हावादारी कुरामा देश र जनतालाई झुक्याउँछ ।
मुखले भ्रष्टाचार गर्दिनँ भन्छ, भ्रष्टाचार सहन्नँ पनि भन्छ, तर वाइडबडी खर्लप्पै खान्छ, सेक्युरिटी प्रेस खर्लप्पै खान्छ, बालुवाटारको जग्गा खर्लप्पै खान्छ, यती समूहसँग साँठगाँठ गर्छ, त्यति मात्रै होइन, कहिल्यै आजसम्म कसैले नगरेको बजेट भाषण हुनुभन्दा पहिले व्यापारीलाई बोलाएर म राजस्वको दर यसरी तलमाथि गर्दै छु भनेर व्यापारीलाई पोस्ने काम गर्छ । अख्तियारले छानबिन गरिरहेको मुद्दामा अख्तियारको प्रमुखले भन्दा पहिले प्रधानमन्त्री आफैँले यो निर्दोष छ भनेर घोषणा गर्ने र संरक्षण गर्ने काम भइरहेको छ ।
लकडाउन गर्यो, महिनौँसम्म हामीलाई घरभित्र राख्यो, तर सरकारले सिन्को पनि भाँचेन । श्रमजीवीहरू, मजदुरहरू यत्रो लामो यात्रा हिँडेर घर पुगे । विदेशबाट स्वदेश फर्काउँदा पनि टिकटमा कमिसन खायो । स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेर सिंगो विश्वका अगाडि शिर झुकाउनुपर्ने अवस्था बनायो ।