ललितानिवास जग्गा प्रकरण : थप तीनजना अदालतमा उपस्थित

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका एक सय ७५ जनामध्ये सोमबारसम्म विशेष अदालतमा एक सयजना उपस्थित भएका छन् । सोमबार तीनजना उपस्थित भएसँगै हाजिर हुनेको संख्या सय पुगेको हो । 

सोमबार फणीन्द्रप्रसाद दाहाल, प्रेमबहादुर खापुङ र भवानी जोशी उपस्थित भएका थिए । जसमध्ये दाहाल र खापुङलाई जनही ५०–५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ भने जोशीलाई खोजेको बखत उपस्थित हुने गरी छाडिएको विशेषका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले बताए । 

जोशीलाई जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको हो । दाहाल भने तत्कालीन मालपोतमा नायव सुब्बाका रूपमा कार्यरत थिए । उनीमाथि सात करोड आठ लाख ४८ हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो । 

यसैगरी खापुङ मालपोत कार्यालय डिल्लीबजारमा अधिकृत थिए । उनीमाथि अख्तियारले नाै करोड ६५ लाख ७६ हजार रुपैयाँ माग गरेको थियो । 

आइतबार अदालतमा उपस्थित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तलाई विशेषले थुनामा पठाउने आदेश दिएको थियो ।

सुझावित समाचार