नारायणकाजीलाई कमानसिंह लामासँग जाेडेर अनावश्यक प्रचारबाजी भयाे : प्रचण्ड

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट गत बिहीबार निधन भएका नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको आर्थिक कारोबार मिलाउन संलग्न भएको विवादास्पद अडियो कुराकानीको प्रतिरक्षामा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अभिव्यक्ति दिएका छन् । 

आज बसेको नेकपाको स्थायी कमिटी बैठकमा उनले पार्टी प्रवक्तासमेत रहेका श्रेष्ठको प्रतिरक्षामा अभिव्यक्ति दिएका हुन् ।

स्वर्गीय लामाको निधनमा शोकप्रस्ताव पारित गरिएको बैठकमा अध्यक्ष दाहालले लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रूपमा मुछेर प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरेका थिए । 

अध्यक्ष दाहालले यस्तो धारणा बैठकमा राखेको जानकारी स्वयं प्रवक्ता श्रेष्ठले दिएका हुन् । 

प्रवक्ता श्रेष्ठले भने, ‘बैठकमा अध्यक्ष प्रचण्डले लामाको निधनबाट शोकाकुल र दुःखित रहेको यस घडीमा लामा र हाइड्रोपावर प्रोजेक्टसँग सम्बन्धित सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रूपमा मुछेर जुन प्रचार भएको छ त्यो प्रचारको भ्रममा नपर्न र त्यस्तो प्रचारमा नलाग्न पनि अनुरोध गर्नुभएको छ । बैठकलाई उहाँले आफूले समेत लामा र सम्बन्धित हाइड्रोपावर प्राजेक्टका व्यक्तिलाई सँगै राखेर पनि कुरा गरेको र प्रवक्ताले तपाईंहरू सबै आफ्नै साथीहरू भएकोले मिल्नुहोस् भन्नेबाहेक अरू कुनै पनि कुरा नभएकोले त्यसप्रकारको भ्रममा नपर्न पनि अनुरोध गर्नुभयो ।’

सुझावित समाचार