सिँचाइ गर्न बनाइएकाे प्लाष्टिकको कृत्रिम पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण

तेह्रथुमको छथर गाउँपालिका– ६ सुदाप च्याङलुङ गाउँमा कृत्रिम पोखरीमा डुबेर तीनजना बालिकाको मृत्यु भएको छ । 

स्थानीयले तरकारीमा सिँचाइ गर्न प्लाष्टिक लगाएर बनाएको पोखरीमा जमेको पानीमा डुबेर शनिबार साँझ ६, ७ र ८ वर्षका तीनजना बालिकाको मृत्यु भएको हो । 

मृत्यु हुनेहरूमा ६ वर्षीया रोजिना, सात वर्षीया रञ्जना अनि  आठ वर्षीया सुहाना लिम्बू छन् ।  रञ्जना र रोजिना दिदी–बहिनी हुन् ।  

वडाध्यक्ष टेकराज लिम्बूका अनुसार दिउँसो घरबाट खेल्न निस्कएका बालबालिकाहरू घर नआएपछि खोजी गर्ने क्रममा तीनैजनाको शव प्लाष्टिकको पोखरीमा फेला परेको थियो । 

एउटै गाउँका तीनजना बालबालिकाहरूको आकस्मात् डुबेर मृत्यु भएपछि सुदाप गाउँ नै शोकमा डुबेको छ । 

आइतबार तीनैजना बालिकाकाे शव परीक्षणका लागि प्रहरीले सदरमुकाम म्याङलुङ लाने तयारी गरिरहेको छ ।

तरकारीमा सिँचाइ गर्न बनाइएको प्लाष्टिकको पोखरीमा करिब ६ फिट गहिरो पानी थियो । 

खेल्ने क्रममा दिउँसो गर्मी भएपछि बालिकाहरू लुगा खोलेर पौडी खेल्न पोखरीमा पसेको, तर चिप्लिएर निस्कन नसक्दा डुबेर मृत्यु भएको हुन सक्ने स्थानीयको आशंका छ । 

घटनास्थल  कोसी राजमार्गस्थित सिँजुवा बजारदेखि करिब २० किलोमिटर टाढा पूर्व पर्दछ ।

सुझावित समाचार