सदरमुकाम चौताराबाट पर्यटकीयस्थल पाँचपोखरीतर्फ जाने स्याउले सडकको स्तरोन्नति र कालोपत्रे गर्ने काममा ठेकेदारले लापरबाही गरेपछि स्थानीयले मन्त्रीसँग गुहार मागेका छन् । सडकको चौडाइ, कालोपत्रे गर्ने बेस र दारेगौँडा भिरतल सडक ढलान गर्दा गुणस्तरमा लापरबाही गरेकोले उनीहरुले मन्त्रीलाई नै गुहारेका हुन् ।
स्थानीयले गरेको गुनासो सम्बोधन गर्न बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल शरदले चौतारा–स्याउले सडकको स्थलगत अनुगमन गरेर ठेकेदार र इन्जिनियरलाई सचेत गराएका छन् । स्याउले सडकको ६ किलोमिटर सडकखण्ड स्तरोन्नतिसहित कालोपत्रे गर्न बज्रगुरु कन्स्ट्रक्सन कम्पनीले दुई वर्षदेखि निर्माणलाई जारी राखेको छ ।

चौताराबाट नजिकै देखिने दारेगौँडा भिरमुनि सडक ग्राबेल नै नगरी नांगो माटोमा ढलान गरेकोले गुणस्तरमा चरम लापरबाही भएको भन्दै स्याउले र गौरातीका स्थानीयले एक महिनाअघि मन्त्री दुलालसमक्ष गुनासो पोखेका थिए । लगत्तै मन्त्री दुलालले स्थलगत अनुगमन गरेर ठेकेदार र इन्जिनियरलाई सचेत गराएका थिए । तर, मन्त्रीको बोलीलाई पनि निर्माण कम्पनीले टेरेन ।
आफ्नो बोलीलाई लत्याएर पुनः गुणस्तरहीन कामलाई निरन्तरता दिएपछि अनुगमनका लागि दुलाल दोस्रो पटक स्याउले पुगेका हुन् । चौताराबाट स्याउलेसम्म सडक अनुगमन गर्दा धेरै कमजोरी पत्ता लागेको मन्त्री दुलालले बताए । ‘कमजोरी सच्याउन भनेको छु,’ उनले भने, ‘विकास निर्माणमा खेलाँची गर्नेलाई कहिँकतै छोडिन्न ।’
आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक प्रतिनिधिसभा–२ को ‘क’ प्रदेशमा मन्त्री दुलालले विकास निर्माणमा भइरहेको प्रगति र कमजोरीको स्थलगत अनुगमनलाई निरन्तरता दिएका छन् । हेटौँडामा कामको लोडलाई कम गरेर विकास निर्माणको अवस्था बुझ्न बागमती प्रदेशको १३ वटै जिल्लामा पुगेको उनले सुनाए ।

ग्रामीण सडकअन्तर्गत विनियोजित २३ करोड बजेटमा स्याउले सडकको स्तरोन्नति र कालोपत्रे धमाधम भइरहेको छ । सडक निर्माण गर्दा मनलाग्दी ढंगले सजिलो ठाउँमा फराकिलो र अप्ठेरो ठाउँमा चौडाइ नबढाएपछि स्थानीयले विरोध गर्दै आएका थिए । तर, कम्पनीले सुनेन ।
कालोपत्रे गर्ने सडकको बेस पातलो भएकाले लामो समय टिकाउ नहुने भन्दै स्थानीयले विरोध गरेका छन् । केही स्थानमा स्थानीय अवरोधका कारण सडक चौडा पार्न नसकिएको ठेकेदार कम्पनीले जिकिर गरेको छ । पुस मसान्तसम्म कालोपत्रे गरेर सक्नुपर्ने दबाबले काम द्रुत गतिमा गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि ङवाङ शेर्पाले बताए ।