सौर्य सिमेन्ट उद्योगमा शक्तिशाली बम विस्फोट, पाँचजना घाइते

शुक्रबार, १९ मंसिर, २०७७
डिजिटल संस्करण
सौर्य सिमेन्ट उद्योगमा शक्तिशाली बम विस्फोट, पाँचजना घाइते

बम विस्फोटका कारण जलेको स्काभेटर

उदयपुरको कटारी नगरपालिका– ८ आहलेस्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा बम विस्फोट भएको छ । बिहीबार राति अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा चारवटा शक्तिशाली बम विस्फोट गराएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ । 

बम विस्फोटमा परी खानीका कामदारहरू दुर्गाबहादुर तामाङ, विष्णुबहादुर मगर, शिवशंकर मोक्तान, सागर मोक्तान र नवीन मगर सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी  हेमन्त भण्डारी क्षेत्रीले बताए ।

 घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको डिएसपी भण्डारीले जानकारी दिए। बम विस्फोटका कारण एउटा एक्स्काभेटरमा क्षति पुगेको छ भने सौर्य सिमेन्टको कर्मचारीको एउटा मोटरसाइकलसमेत जलेको छ।  स्थानीयलाई उद्धृत गर्दै चारवटा बम विस्फोटको आवाज आएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भीमबहादुर दाहालले चारवटा बम विस्फोट भएको सूचना प्राप्त भएको जनाए ।  इलाका प्रहरी कार्यालय कटारीका टोली घटनास्थलतर्फ गएको एसपी दाहालले बताए  । 

विस्फोट कसले गराएको भन्ने विषयमा अहिलेसम्म  कसैले जिम्मा लिएको छैन । यसअघि पनि सौर्य सिमेन्टको ट्यांकर र एक्स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको थियो ।

बम विस्फोटको घटनाबारे थप विवरण आउन बाँकी छ । यस्तै मंसिर ६ गते राति ताप्ली गाउँपालिका कार्यालय भवनमा पनि अज्ञात समूहले एउटा बम विस्फोट गराएको थियो भने एउटा बम नेपाली सेनाको टोलीले १८ घन्टापछि डिस्पोज गरेको थियो ।

सुझावित समाचार