सवारीसाधनमा जोर विजोर प्रणाली लागु छ कि हट्यो ?

आइतबार, १४ मंसिर, २०७७
डिजिटल संस्करण

सरकारले अझै पनि  सवारीसाधनमा जोर–बिजोर प्रणाली जारी राखेको छ । कोरोना भाइरसको  संक्रमणको दरलाई  कम गर्ने भन्दै  लागू गरिएको  जोर–बिजोर अझै नखुल्दा यातायात व्यवसायी, सवारीधनी र यात्रु मारमा पर्ने गरेका छन् ।

काठमाडौं उपत्यकाभित्र अहिले पनि कोरोना भाइरसको जोखिम उच्च नै रहेकाले नखोलिएको  सरकारको भनाइ छ । तर,  व्यापार–व्यवसायलगायत सम्पूर्ण रूपमा खुला हुँदा जोर–बिजोर भने अझै जारी रहेको छ ।

सरकारले १ असोजदेखि अन्य क्षेत्र सम्पूर्ण रूपमा खुला गरेको भए पनि सवारीसाधनको जोर–बिजोर प्रणालीलाई अझै हटाएको छैन । 

कहिलेबाट जोर–बिजाेर प्रणाली खुला हुने भन्नेबारेमा महानगरीय ट्राफिक प्रहरी पनि अनविज्ञ रहेका छन् । जोर–बिजोर प्रणाली लागू नै रहेको भए पनि यसको कार्यान्वयनमा चेकजाँच भने ट्राफिकले निकै कम मात्र गर्ने गरेको छ । 

जसका कारण जोर–बिजोर प्रणाली लागू छ वा छैन् भन्ने सडकमा हेर्दा भन्न नसकिने अवस्था छ । अर्थात् हरेक दिन निजी जोर–बिजोर सबै प्रकारका सवारीसाधन सडकमा चलेका देखिन्छन् ।

यद्यपि, विभिन्न चेक प्वाइन्टहरूमा ट्राफिकले वेलावेला चेकजाँच गरी नियम उल्लंघन गरेको भन्दै सवारीसाधनहरूलाई कारबाही गर्ने गरेको छ । 

जोर–बिजोर खुला गर्नका लागि सम्बन्धित निकायलाई अनुरोध गरिरहेको भए पनि सरकारले अझै  खुला गर्नका लागि कुनै पहल नगरेको ट्राफिक प्रवक्ता रामेश्वरप्रसाद यादवले जानकारी दिए ।

‘हामीलाई हरेक दिन यात्रुबाट, सवारीसाधन धनीबाट टर्चर आउने गर्दछ । समाएन भने नियमको पालना गर्नुपर्ने दायित्व हाम्रो हो  । तैपनि माथि कुरा भइरहेको छ, केही दिनमा समस्याको हल हुने आशा  गरेका छौँ,’ यादवले भने ।

सरकारले विनाअर्थको जोर–बिजोर लागू गरेको र अझै पनि यो प्रणली नहटाएकाले महासंघको तर्फबाट विज्ञप्ति जारी गरेर भए पनि आफैँले खोल्ने नेपाल यातयात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले बताए । 

‘हामीले यातायात व्यवस्था विभागसँग पनि भनेका छौँ, मंगलबारसम्म कुनै कदम नचालिए यातायात मजदुर संघका अध्यक्ष व्यवसायी संघका अध्यक्षसहित मिलेर विभागलाई  दबाब दिने भनेका छौँ,’ कर्मचार्यले भने ।

जोर–बिजोरको नियम कोरोना रोकथाम समन्वय समितिबाटै भएकाले सरकारले क्याबिनेटबाट निर्णय गर्नुपर्ने भएकाले चाँडै नै क्याबिनेटबाट निर्णय हुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । 

अहिले पनि जोर–बिजोर नहट्दा दैनिक हजारभन्दा बढीको संख्या सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा पर्ने गरेका छन् ।

सुझावित समाचार