भारतीय विदेश सचिव शृंगला आज आउँदै, नेपाल–भारत उच्च कूटनीतिक तहमा १५ महिनापछि वार्ता

बुधबार, १० मंसिर, २०७७
डिजिटल संस्करण
भारतीय विदेश सचिव शृंगला आज आउँदै, नेपाल–भारत उच्च कूटनीतिक तहमा १५ महिनापछि वार्ता

तस्वीर साभार : डिएनए इन्डिया

नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि बिहीबार औपचारिक वार्ता हुँदै छ । परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी हर्षबर्धन शृंगला नेतृत्वका प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो । नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादबीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न भारतीय विदेश सचिव शृंगला बिहीबार काठमाडौं आउँदै छन् ।

बिहीबारको वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव पौड्याल, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमालसहितका अधिकारी हुनेछन् । विदेश सचिव शृंगलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान मामिला हेर्ने सहसचिव अरिन्दम बाग्ची, भारतीय राजदूत विनयमोहन क्वात्रा र भारतीय दूतावासका अधिकारीहरू हुनेछन् ।

भारतीय विदेश सचिव शृंगलाले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । यस्तै, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँग पनि विदेशमन्त्री शृंगलालको शिष्टाचार भेट हुनेछ । शुक्रबार नेपाली थिंकट्यांक आइडिएसएद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर उनी दिल्ली फर्किनेछन् ।

नक्सा सार्वजनिक भएपछि रोकिएको थियो संवाद
४ भदौ ०७६ मा काठमाडौंमा दुई मुलुकका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भएको थियो । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रमण्यम् जयशंकर आएका थिए । त्यसको दुई महिनापछि भारतले कालापानीसमेतको जमिन समेटेर नयाँ नक्सा जारी गरेको थियो । त्यसपछि दुई मुलुकबीच औपचारिक कूटनीतिक वार्ता रोकिएको थियो ।


विदेश सचिवस्तरीय वार्ताका लागि नेपालले प्रयास गरेको थियो, तर भारतले विदेश सचिव परिवर्तनको संक्रमणकाल सकिएपछि वार्ता गर्ने बताएको थियो । नयाँ विदेश सचिवका रूपमा शृंगला आएको केही समयपछि कोभिड–१९ महामारी सुरु भयो ।

भारतले उत्तराखण्ड, लिपुलेक र तिब्बत जोड्ने सडक उद्घाटन गरेको जवाफमा नेपालले लिम्पियाधुरासमेत समेटेर नयाँ नक्सा जारी गर्‍यो । त्यसपछि दुई देशबीच कूटनीतिक संवाद ठप्प भएको थियो । भारतले कालापानीसम्म दाबी गर्दै कोभिड–१९ महामारी सकिएलगत्तै परराष्ट्र सचिवस्तरीय वार्ता गर्ने धारणा राख्दै आएको थियो । नेपालले भने यथाशक्य वार्ता गर्ने प्रस्ताव गरेको थियो ।

गत १५ अगस्टमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा औपचारिक संवाद सुरु गर्ने सहमति भएको थियो । त्यसपछि भारतीय गुप्तचर संस्था ‘र’ प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपाल भ्रमण गरेका थिए ।

कालापानी, सुस्ताको सीमा समस्यामा नेपाली पक्षको जोड
द्विपक्षीय वार्तामा नेपालले कालापानी, सुस्तालगायत सीमा समस्या समाधानमा जोड दिने भएको छ । त्यसका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक शीघ्र बस्नुपर्ने, प्राविधिक तहमा पनि द्विपक्षीय छलफल हुनुपर्ने धारणा नेपाली पक्षले राख्ने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीको भनाइ छ । यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर टुंगिनुपर्नेसहित बाँध, डुबान, द्विपक्षीय सम्झौताअनुसारका परियोजना कार्यान्वयनमा नेपाली पक्षको जोड रहने ती अधिकारीले बताए ।

भारतीय पक्षले भने सीमाको विषयभन्दा बढी द्विपक्षीय आर्थिक सहकार्य, कनेक्टिभिटीलगायतमा जोड दिने सम्भावना छ । ‘मैले बुझेसम्म प्रधानमन्त्रीहरूबीच भएको सहमति कार्यान्वयनको समीक्षा हुन्छ र भविष्यमा के के गर्ने भन्ने विषयमा छलफल हुन्छ,’ भारतको सरकारी थिंकट्यांक मनोहर पारिकर आइडिएसएका नेपाल मामिला विज्ञ डा. निहार आर. नायकले टेलिफोनमा भने, ‘सीमासम्बन्धी नेपालले राख्ने चासो र सरोकारलाई विदेश सचिवले नोट गर्ने र दिल्लीमा राजनीतिक नेतृत्वलाई जानकारी दिनेछन् । त्यसआधारमा उनले नेपाली पक्षलाई निश्चित समयपछि जवाफ दिनेछन् ।’

तर, यो भ्रमणले राजनीतिक तहमा उच्चस्तरीय भ्रमणको मार्गप्रशस्त गर्ने नायकको भनाइ छ । मंसिरभित्रै नयाँदिल्लीमा नेपाल–भारत संयुक्त आयोगको बैठक बस्ने गरी तयारी भइरहेको छ । ‘दुई देशबीच भविष्यमा प्रधानमन्त्रीस्तरको भ्रमण गर्ने विषयमा पनि छलफल हुनेछ,’ कूटनीतिक स्रोतले भन्यो ।

विदेश सचिव शृंगला भारतीय नेपालीभाषी परिवारका नातेदार हुन् । उनी नेपाली भाषा राम्रोसँग बोल्न सक्छन् । यस्तै, एक समयमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान डिभिजनमा काम गरेको अनुभव पनि उनीसँग छ । उनले कार्यभार सम्हालेपछि पहिलो भेट नेपाली राजदूत नीलाम्बर आचार्यसँग गरेका थिए ।

भारतीय कूटनीतिक स्रोतका अनुसार शृंगलाले भारतको छिमेक प्रथम नीतिअन्तर्गत नेपाल उच्च प्राथमिकतामा रहेको सन्देश स्पष्ट रूपमा दिनेछन् । यस्तै, नेपालसँग थप आर्थिक सहकार्यको बचनबद्धता पनि व्यक्त गर्ने स्रोतको भनाइ छ ।
परराष्ट्र मन्त्रालयले द्विपक्षीय वार्तामा नेपाल र भारतबीच सहयोगका बृहत् क्षेत्रहरूमा छलफल हुने बताएको छ । ‘यो भ्रमण दुई मित्रवत छिमेकीबीच उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान हो,’ परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ । विदेश सचिव शृंगलाले नेपाल सरकारलाई कोभिड–१९ सँग सम्बन्धित सहयोग हस्तान्तरण गर्ने कार्यक्रम पनि छ ।

चिनियाँ रक्षामन्त्रीको ‘स्टपओभर’ भ्रमण
भारतीय विदेश सचिव नयाँदिल्ली फर्केको दुई दिनपछि आइतबार चिनियाँ रक्षामन्त्री जनरल वेइ फेङ्गे औपचारिक भ्रमणमा नेपाल आउँदै छन् । उनको भ्रमण सार्वजनिक भएको छैन, तर एक दिने भ्रमणका लागि परराष्ट्र मन्त्रालय, रक्षामन्त्रालय र जंगी अड्डाले तयारी गरिरहेका छन् । नेपाल भ्रमणपछि उनी बंगलादेश जाने कार्यक्रम छ ।

कोभिड–१९ महामारीपछि नेपाल आउन लागेका उनी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन् । भारतीय दुई सुरक्षा अधिकारी र विदेशसचिवपछि पहिलो नम्बरका चिनियाँ स्टेट काउन्सिलर जनरल वेइको नेपाल भ्रमणलाई गम्भीरतापूर्वक लिइनुपर्ने कूटनीतिक तथा रणनीतिक मामिलाका जानकार बताउँछन् ।

पूर्वराजदूत डा. दिनेश भट्टराई भारतीयपछि चिनियाँ मन्त्रीको भ्रमण संयोग मात्रै हुन सक्ने, तर उनीहरूको दौडधुप अर्थपूर्ण देखिएको बताउँछन् । ‘उनीहरू आफैँले निर्णय गरेको मितिमा आउँछन्, चाहेका मानिसलाई उनीहरूले चाहेको समयमा भेट्छन्, हाम्रो अनुकूलता वा सुविधामा उनीहरूको भ्रमण हुँदैन,’ भट्टराई भन्छन्, ‘नेपालमा छिमेकी र अरू शक्ति मुलुकको चासो बढेको छ । नेपालको दैलोमा भूराजनीति आएको छ । शक्ति, प्रभाव र भूमिका बढाउन चीन र भारत सक्रिय भएको अर्थमा यो भ्रमणलाई लिनुपर्छ ।’ छिमेकी मुलुकहरूको बढ्दो रुचिलाई व्यवस्थापन गर्ने चुनौती नेपाललाई थपिएको, तर नेपालमा रणनीतिक संस्कृतिको विकास नभएको भट्टराईको टिप्पणी छ ।

त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की भारत र चीनबीच नेपालमा प्रभाव विस्तारको होड चलेको टिप्पणी गर्छन् । ‘पाँच वर्षअघिको नाकाबन्दीपछि नेपालमा चीनले स्थान ओगटेको छ, भारतले गुमाएको छ । गुमेको स्थान फिर्ता लिने भारतको जोड र नाकाबन्दीसँगै नेपालमा पाएको स्थान कायम राख्ने चीनको जोडबीच होडबाजी चलेको छ,’ डा. कार्कीको विश्लेषण छ, ‘यसबाहेक विश्वव्यापी र क्षेत्रीय अस्थिरताको प्रतिबिम्ब पनि नेपालमा देखिएको छ । यो अहिले आएको होइन, तर यसको व्यवस्थापन गर्ने शासकीय क्षमता नेपालले देखाउन सकेको छैन ।’

सामरिक मामिलाका जानकार गेजा शर्मा वाग्लेको विश्लेषणमा भारतीय विदेश सचिव र चिनियाँ रक्षामन्त्रीको भ्रमण संयोगमा मात्र होइन । ‘चिनियाँ रक्षामन्त्रीको आकस्मिक  भ्रमण कूटनीति र सुरक्षाभन्दा पनि राजनीतिक मिसनबाट अभिप्रेरित देखिन्छ,’ वाग्ले भन्छन्, ‘छिमेकमा प्रभाव विस्तार दुवै देशको प्राथमिकतामा रहेको देखिन्छ । नेपालमा चीनको विस्तारित प्रभाव मजबुत पार्ने गरी भूमिका बढाउन र उच्चस्तरीय चिनियाँ नेतृत्वको सन्देश लिएर रक्षामन्त्री आउन लागेको बुझिन्छ ।’

भारतका ‘र’ प्रमुख र सेनाध्यक्षको भ्रमणमा नेपाल–चीन सम्बन्ध र भारतको सुरक्षा चासोबारे छलफल भएको सार्वजनिक भएपछि चीन थप सतर्क रहेको र त्यही सन्दर्भमा चीनले रक्षामन्त्रीको नेपाल भ्रमण गराएर स्पष्ट सन्देश दिन खोजेको वाग्लेको विश्लेषण छ ।

भू–रणनीतिक मामिला जानकार पूर्वउपरथी विनोज बस्न्यात नेपालका छिमेकी भारत र चीन तथा अमेरिकासँगको पुरानो सम्बन्ध अब नयाँ भूराजनीतिक वातावरणमा प्रवेश गरेको बताउँछन् । ‘भारत र चीन एकअर्का विरोधी वा दुवैको विरोधी कार्ड खेल्दा नेपालको राष्ट्रिय हित पूरा हुँदैन । एकअर्का विरोधी षड्यन्त्रको सिद्धान्तमा नेपाल जान सक्दैन, यसलाई नेपालले धान्न पनि सक्दैन,’ बस्न्यात भन्छन् । दुवै देशसँगको सम्बन्धलाई नेपालले आफ्नो राष्ट्रिय हितका आधारमा सञ्चालन गर्नुपर्ने उनको सुझाब छ ।
 

सुझावित समाचार