‘धरौटीमा छुटेका अभियुक्तले नै गरे बालिकाको हत्या’
६ वर्षीया अबोध बालिका गुलाब साह खातुनको हत्या विरोधमा उत्रिएका महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । स्थानीयले हत्यामा संलग्न अरुणकुमार साहको घर जलाएका छन् । बालिकाको बलात्कारपछि हत्या गरेको आशंका गरिएको छ ।
बर्दिबास नगरपालिका– १४ सुगमबस्ती बस्ने साहिद आलमकी छोरी गुलाब आइतबार साँझ घरछेउमा खेल्दाखेल्दै बेपत्ता भएकी थिइन् । प्रहरीले सोमबार मध्यराति उनको शव नजिकैको खेतमा बोरामा बाँधेर फालेको अवस्थामा भेटेको थियो । आक्रोशित स्थानीयले मंगलबार सुरुमा हत्यामा संलग्न अरुणको घर आगो लगाए, त्यसपछि प्रहरीविरुद्ध पनि खनिए । प्रहरीले अरुणलाई संरक्षण गरेको उनीहरूको आरोप छ । अरुण आलमकै छिमकी हुन्, उनी बर्दिबासमा पसल गर्छन् ।
साँझ अबेरसम्म छोरी फेला नपरेपछि आलमका आफन्तले प्रहरीलाई खोजिदिन आग्रह गरेका थिए । प्रहरीले स्थानीय सबैको घर खानतलासी गर्दै खोजी गरेको थियो । तर, अरुणको घरभित्र पसेर खोजी नगरेको स्थानीयको भनाइ छ ।
प्रहरीका अनुसार अरुणले आइतबार राति नै बालिकाको हत्या गरी बोरामा बाँधेर कोठामा राखेका थिए । अन्यत्र व्यवस्थापन गर्न नसकेपछि उनले सामुदायिक परिवार कल्याण संघको कार्यालयपछाडि रहेको विनोद साहको खाली जग्गामा शव राखेको बोरा फालेर गौशालास्थित अर्को घर गएका थिए । सोमबार साँझ उनले मदिराको नसामा परिवारका सदस्यलाई बालिकाको हत्या आफूले गरेको बताएको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यले त्यसको जानकारी प्रहरीलाई दिएपछि अरुणलाई नियन्त्रणमा लिएर छानबिन थालिएको थियो । केरकारकै क्रममा उनले बालिकाको हत्या गरी शव फालेको स्वीकार गरेको महोत्तरीका एसपी टीकाबहादुर केसीले बताए । हत्याअघि बलात्कार गरिएको विषयमा भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन भन्न सकिने उनले बताए । विस्तृत विवरण आउन अझै बाँकी रहेको उनको भनाइ छ ।
शव फेला पारे पनि प्रहरीले मध्यराति मुचुल्का उठाउन नसकेर भेटिएको ठाउँ घेरा हालेर राखेको थियो । बिहान घटनास्थल पुगेका स्थानीयले राति नै हत्यामा संलग्न अरुण पक्राउ परिसकेको खबर पाए । आक्रोशित बनेका उनीहरूले प्रहरीलाई शव उठाउन दिएनन् । बरु, अरुणको तीनतले घरमा आगो लगाए ।
हत्यामा संलग्न अरुणकुमार साह
बर्दिबासका डिएसपी र घुमुवा प्रहरीले अरुणलाई संरक्षण गरेको हल्ला फैलिएपछि प्रदर्शनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगामुढा गर्न थाले । जसमा एक प्रहरी घाइते भए । अरुणको घरमा लगाइएको आगो निभाउन दुईवटा दमकल मगाइएको थियो, तर स्थानीयले बाटो छेकेर जान दिएनन् । प्रदर्शन थप उग्र बन्दै गयो ।
प्रदर्शनकारीले बालिकाका आफन्तहरूकै नेतृत्वमा शव उठाएर महेन्द्र राजमार्गतर्फ ल्याउन थाले । त्यसक्रममा फेरि प्रहरीसँग झडप भयो । भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो, तर सबै तितरबितर भएनन् । केही प्रदर्शनकारी शव राजमार्गमा राखेर नाराबाजी गर्न थाले । क्रमशः प्रदर्शनकारी पनि थपिँदै गए ।
यहीबीच प्रहरीले शव नियन्त्रणमा लिन पुनः लाठीचार्ज गर्यो । झडप हुन थालेपछि अश्रुग्यास हान्नुका साथै हवाई फायर पनि गर्यो । प्रहरीको गोली लागेर बर्दिबास नगरपालिका– ५ का श्याम कार्की र वडा नम्बर १ का सञ्जय भनिने बुद्धिराज न्यौपाने घाइते भए । कार्कीको घाँटी, छाती, खुट्टामा चार गोली लागेको छ । दुवैजनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । प्रहरीको लाठीबाट मृतक बालिकाका आफन्त आफ्ताब आलमको पनि टाउको फुटेको छ ।
प्रदर्शनकारीले अवरुद्ध गरेको महेन्द्र राजमार्ग र बिपी राजमार्ग प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । प्रहरीले राजमार्गमा सुरक्षा बढाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी टीकाबहादुर केसीले घाइतेमध्ये एकजनालाई गोलीको छर्रा र अर्कोलाई रबरको गोली लागेको बताए । भिड नियन्त्रण गर्न प्रहरीले बाध्य भएर हवाई फायर गर्नुपरेको उनको भनाइ छ । झडपका क्रममा डिएसपी प्रकाश विष्ट, सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित १५ प्रहरी पनि घाइते भएको एसपी केसीले वताए ।
यसअघि नै हत्याको मुद्दा
बालिका हत्या गरेका अरुणकुमार साह यसअघि नै हत्याको मुद्दा खेपिरहेका व्यक्ति हुन् । गत २८ वैशाखमा गौशाला नगरपालिका– ४ बिर्ताका ४४ वर्षीय दिलित ठाकुरको हत्या गरेको आरोपमा उनी पक्राउ परेका थिए । काठमिस्त्रीको काम गर्ने ठाकुरलाई उनले ढुंगाले किचेर हत्या गरेको आरोप थियो । प्रहरीले अरुणमाथि कर्तव्य ज्यान मुद्दा चलाएको थियो । तर, जिल्ला अदालत महोत्तरीले उनलाई एक लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी फुक्काफाल घुमिरहेका थिए ।
सर्वपक्षीय छलफलपछि सहमति
दिनभरि चर्किएको आन्दोलन साँझ सर्वपक्षीय सहमतिपछि साम्य भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले मृतक बालिकाको परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरू बोक्न प्रयोग भएको हेलिकोप्टर र एम्बुलेन्सको खर्च तथा उपचार खर्च व्यहोर्न गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति भएको बताए । त्यस्तै, हत्याको निष्पक्ष छानबिन र अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्ने सहमति पनि भएको उनले बताए ।