प्रचण्डले पेस गरेको आरोपपत्रको जवाफ अध्यक्ष ओलीले दिनुपर्दैन : मुख्यमन्त्री गुरुङ

मंगलबार, २ मंसिर, २०७७
डिजिटल संस्करण
प्रचण्डले पेस गरेको आरोपपत्रको जवाफ अध्यक्ष ओलीले दिनुपर्दैन : मुख्यमन्त्री गुरुङ

फाइल तस्वीर

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका नेता पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको दस्ताबेजलाई आरोपपत्रको संज्ञा दिएका छन् ।

दस्ताबेज दुवै अध्यक्षले पेस गर्नुपर्ने पार्टी एकताको भावनाविपरीत एकल रुरूपमा पेस भएकाले त्यो दस्ताबेज नभई आरोपपत्र मात्र रहेको उनको जिकिर छ । 

त्यसको जवाफ प्रधानमन्त्रीले दिन नपर्ने उनले बताएका छन् । पार्टीमा नमिलेका कुरा छलफल गर्ने विषय रहेको भने उनले बताए । 

कार्यकारी अध्यक्ष प्रचण्डले आरोपपत्र दर्ज गर्नुले पार्टीमा संकट पैदा भएको उनको टिप्पणी छ ।  उनले प्रचण्डले मिथ्या आरोप लगाएकाे भन्दै त्यसकोे जवाफ दिन नपर्ने बताएका हुन् । 

पार्टी विभाजनको डिलमा पुगेकाले यसलाई जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड दुवैबैले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । 

हाल काठमाडौंमै रहेका मुख्यमन्त्री गुरुङले त्यसका लागि आफूहरूले प्रधानमन्त्रीलाई आग्रह गरेकोसमेत जानकारी दिए । 

आइतबार राति प्रधानमन्त्रीसँग पूर्वमाओवादीका केही नेतासहित भएको बैठकमा आफूले यस्तो सुझाब दिएको उनले बताए । 

‘पूर्वमाओवादीका समेत साथीहरूसहित अस्ति राति (आइतबार) हामीले प्रधानमन्त्रीलाई भेटेका हौँ । मैले विषको घडा पिएर भए पनि पार्टी एकता बचाउन प्रधानमन्त्रीलाई आग्रह गरेँ, सहभागी अरू साथीहरूले पनि यस्तै आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीज्यूले पनि तपाईंहरू ढुक्क हुनुहोस् म कुनै हालतमा पार्टी फुट्न दिन्नँ भन्नुभएको छ,’ मुख्यमन्त्री गुरुङले भने । 

‘प्रधानमन्त्रीले विषको घडा पिएर भए पनि पार्टी एकता जोगाउनुपर्छ भनेको राजीनामा दिएर पनि एकता जोगाउन खोज्नुभएको हो ?’ भन्ने प्रश्नमा मुख्यमन्त्री गुरुङले राजीनामा अहिलेको समस्याको हल नरहेको प्रस्ट्याए । 

उनले मन्त्रिपरिषद् पुनर्गठन र विगतका सहमतिअनुरूप नै पार्टी अगाडि बढ्नुपर्ने बताए ।

सुझावित समाचार