भारतीय कामदार आउन नपाउँदा उद्योग र निर्माण क्षेत्र प्रभावित

शनिबार, २९ कार्तिक, २०७७
डिजिटल संस्करण

चाडपर्व छोडेर महामारीबीच कामको खोजीमा दैनिक सयौँ नेपालीहरू भारत गइरहेका छन् । असोजयता मात्रै त्रिनगर र गड्डाचौकी नाकाबाट झन्डै ६० हजारको संख्यामा नेपालीहरू भारत गएको प्रहरीको तथ्यांक छ । कामको खोजीमा नेपालीहरू भारत गइरहँदा लकडाउनकै समयमा स्वदेश गएका भारतीय कामदार नफर्किंदा यहाँको उद्योग, व्यवसाय र निर्माण क्षेत्र प्रभावित भएको छ । भारतीय कामदारमा निर्भर इँटा उद्योग, खाद्य, फर्निचर उद्योग, सडक कालोपत्रे, गाडी मर्मतलगायत क्षेत्र प्रभावित बनेको हो । कोरोना संक्रमण फैलिन नदिन सीमानाका बन्द गरिएपछि भारतीय नागरिकलाई नेपाल आउन दिइएको छैन ।

कात्तिक अन्तिमदेखि इँटा उत्पादनका लागि काँचो इँटा पोल्ने काम सुरु हुन्छ, तर भारतीय कामदार नफर्केपछि यस वर्ष कैलाली–कञ्चनपुरका अधिकांश इँटा उद्योगले उत्पादित काचो इँटा पोल्न पाएका छैनन् । यसले बजारमा इँटाको अभाव हुने देखिएको व्यवसायीहरूले बताएका छन् । नेपाली कामदार लगाएर काँचो इँटा तयार भए पनि दक्ष कामदार नफर्केपछि भट्टीमा हालेर पोल्न नपाएको सेती–महाकाली इँटा व्यवसायी संघका अध्यक्ष विनोद शाहले बताए । वर्षायाममा इँटाको उत्पादन बन्द हुने भएकाले अहिले इँटा पोल्न सुरु गर्ने समय हो ।

‘तयार पारेको काँचो इँटा पोल्न पाइएको छैन । यसले अहिले नै बजारमा इँटाको अभाव हुन थालेको छ,’ शाहले भने, ‘अबको ८–१० दिनसम्म पनि पोल्न सुरु नभए बजारमा इँटै पाइँदैन ।’ आगो लगाउने, पोल्ने, भट्टामा काँचो इँटा भर्ने, पाकेको इँटा ‘ग्रेडिङ’ गरेर निकाल्नेलगायत काममा दक्ष कामदार आवश्यक पर्ने इँटा व्यवसायी बताउँछन् । यी काम गर्ने अधिकांश भारतीय कामदार रहेको अध्यक्ष शाहले बताए । संघका अनुसार कैलाली, कञ्चनपुरमा ८० वटा इँटा उद्योग छन् । एउटा उद्योगमा सयदेखि डेढ सय कामदार रहेका र त्यसमा ३०–४० प्रतिशत भारतीय कामदार हुने अध्यक्ष शाहले बताए । भारतीय कामदार नफर्किंदा पोल्न नपाएपछि काँचो इँटा पनि कम मात्रामा तयार गर्नुपरेको व्यवसायीहरूको भनाइ छ ।

धनगढीस्थित खप्तड इँटा उद्योगमा काँचो इँटा तयार पारेर थुपारिएको छ । गत वर्ष यसवेला इँटा पोलेर निकाल्न सुरु गरिसकेको उद्योगले यस वर्ष पोल्न सुरु नै गर्न सकेको छैन । खप्तड इँटा उद्योगका सञ्चालक दीपेन्द्र श्रेष्ठले नेपाली कामदार लगाएर तयार पारिएको काँचो इँटा दक्ष कामदारको अभावमा पोल्न नपाएको बताए । काँचो इँटालाई भट्टीमा राख्ने, पोल्ने, निकाल्ने, ‘ग्रेडिङ’को काम गर्ने भारतीय कामदार नफर्केपछि समस्या भएको श्रेष्ठले बताए । लकडाउनका वेला गत वैशाखतिर घर गएका उद्योगमा कार्यरत करिब सयजना भारतीय कामदार नफर्केका उनले बताए ।

भारतीय कामदार नफर्किएपछि निर्माण क्षेत्र पनि प्रभावित बनेको छ । सडक कालोपत्रेसम्बन्धी अधिकांश योजनाको कामै सुरु हुन नसकेको निर्माण व्यवसायीहरूले बताएका छन् । कालोपत्रेको काम भारतीय कामदारमा निर्भर रहेको निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले बताए । कालोपत्रे, पुल बनाउने, खानेपानीको ट्यांकी बनाउने, मार्बल लगाउने, उद्योगहरूमा मेसिन चलाउनेलगायत काम भारतीय प्राविधिक कामदारका भरमा हुने गरेको अध्यक्ष उपाध्यायले बताए । 

 यी काममा करिब ७० प्रतिशत भारतीय कार्यरत रहेका उनले बताए । ‘लकडाउनका वेला फर्केका अधिकांश कामदार सीमा बन्द भएकाले आउन पाएका छैनन् । दक्ष कामदार नआएपछि निर्माण क्षेत्रमा ठूलो असर परेको छ ।’ उपाध्यायले भने, ‘कामदार अभावले धेरैजसो योजनाको काम सुरु हुन सकेको छैन ।’ सडक, पुल, खानेपानीसम्बन्धी योजनाहरू बढी प्रभावित बनेका उनले बताए । भारतीय कामदार ल्याउन नपाए आयोजनाहरूको निर्माण अवधि लम्बिन सक्ने व्यवसायीहरूले बताएका छन् ।

खासगरी कालोपत्रेको काम पूरै भारतीय कामदारमा निर्भर रहनुपर्ने अवस्था रहेको व्यवसायीहरूको भनाइ छ । यहाँ कति भारतीय कार्यरत छन् भन्ने तथ्यांक कुनै निकायसँग छैन । तर, कैलालीमा विभिन्न क्षेत्रमा मात्रै ठूलो संख्यामा भारतीय कामदार कार्यरत छन् । उनीहरूमध्ये करिब २० प्रतिशतजति मात्र अवैध रूपमा भित्रिएका कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । कोरोना संक्रमण फैलिन नदिन सरकारले भारतसँगको नाका बन्द गरेकाले सीमामा भारतीय नागरिकलाई आउन दिइएको छैन ।

See More On

सुझावित समाचार