सिद्धि नहर अझै सञ्चालनमा आएन

शनिबार, २९ कार्तिक, २०७७
डिजिटल संस्करण
सिद्धि नहर अझै सञ्चालनमा आएन

गत साउनको पहिरोले बगाएको सिद्धि खोला सिँचाइको नहर । तस्बिर : नयाँ पत्रिका

एक दशक लामो प्रयासपछि सञ्चालनमा आएको नहर तीन महिनाअघि भत्कियो, करोडौँ क्षति, बाहुनडाँगी क्षेत्र बाँझै रहने खतरा

मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीका ६ हजार कृषकले सिँचाइ गर्दै आएको सिद्धि खोला सिँचाइ नहर भत्किएको चार महिनामा पनि नबन्दा कृषक समस्यामा परेका छन् । हिउँदे बाली लगाउने समयसम्म पनि भत्किएको नहर मर्मत नहुँदा मेचीनगर–१, २, ३ र ४ का खेतीयोग्य जमिन बाँझै रहने खतरा आएको हो ।

राज्यले ५४ करोड खर्च गरेर सञ्चालनमा ल्याएको सिद्धि नहर भत्किएको चार महिनासम्म पनि पुनर्निर्माणका लागि कसैले चासो दिएको छैन । यो नहरले मेचीनगरको उत्तरी क्षेत्रको १७ सय हेक्टर जमिन सिँचाइ हुँदै आएको छ । गत २ र ३ साउनमा वर्षासँगैको पहिरोले इलामस्थित रोङ–६ को रमिते–थलथलेमा नहरको सय मिटर क्यानलको भाग बगाएको सिद्धि खोला सिँचाइ जल उपभोक्ता संस्थाले जनाएको छ । 

जसका कारण पानी चाहिने समयमा खेत बाँझै हुने सम्भावना बढेको उपभोक्ता संस्थाका अध्यक्ष नीलकण्ठ तिवारीले बताए । ‘किसानले धान उठाएर गहुँ लगाउन खोज्दै छन् । सिँचाइविना गहुँ हुँदैन । कृषकको दबाब ठूलो छ,’ उनले भने, ‘नहर सञ्चालन गर्न सक्ने अवस्था भएन भने त बाहुनडाँगी क्षेत्र बाँझै हुने खतरा छ ।’ 

बर्खामा भन्दा पनि हिउँदमा सिँचाइको अवश्यकता पर्ने अध्यक्ष तिवारी बताउँछन् । बर्खामा आकाशे पानीको भर पर्न सकिने भए पनि हिउँदमा यो सम्भव छैन । हिउँदमा चिया, सुपारी, बेमौसमी तरकारी, मकै, गहुँ, कृषकले लगाएका विभिन्न प्रकारका घाँस, तोरीजस्ता बालीमा सिँचाइ आवश्यकता हुन्छ । रोङ–६ स्थित सिद्धि खोलामा मुहान रहेको यो नहर २२ किलोमिटर लामो छ । जसमा १२ किलोमिटर पहाडको भिरपाखाबाट ल्याइएको छ । नहर सञ्चालनका लागि राज्यले दशक लामो समय र करोडौँ बजेट खर्च गरेको थियो ।

बेवास्ताको सिकार
०६२ देखि निर्माण सुरु भएको यो सिद्धि खोला सिँचाइ आयोजना ०७४ बाट मात्र सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको छोटो समयमा सम्बन्धित निकायको बेवास्ताले करोडौँ क्षति भएको उपभोक्ता संस्थाका पूर्वअध्यक्ष तथा कृषक हरि चम्लागाईंले बताए । ‘नहर सञ्चालनमा लापरबाही भयो । बर्खामा यो नहर आवश्यक पर्दैन भन्दाभन्दै पनि चलाइयो । जसका कारण पनि नहरमा क्षति भएको हो । वेलावेला मर्मतको काम पनि भएन । नहर करोडभन्दा तल बन्दैन । हिउँदमा कृषकमाथि धोका हुने भयो,’ उनले भने, ‘भत्किएपछि पनि उपभोक्ता संस्थाले जति पहल गर्नुपर्ने त्यति गर्न सकेन । नहर सञ्चालनका लागि कसैले चासो दिएको देखिँदैन । अब पनि नहर नबन्ने हो भने यस वर्ष बाहुनडाँगी बाँझै हुन्छ । किसान निराश भएका छन् ।’

राज्यले आधा अर्बभन्दा बढी बजेट खर्च गरेको आयोजनामा मर्मतका लागि सामान्य बजेटसमेत व्यवस्थापन गर्न नसक्दा चार महिनादेखि नहर सञ्चालनमा आउन नसकेको रोङ–६ का वडाध्यक्ष मणिकुमार स्याङ्बो बताउँछन् । ‘हात्ती पाल्न सक्ने सरकारले घोडा पाल्न नसकेजस्तो भएको उदाहरण सिद्धि नहर हो । बिग्रिएको ठाउँमा राज्यले सामान्य मर्मतका लागि बजेट व्यवस्थापन नगर्दा सम्पूर्ण लगानी बालुवामा पानी हालेजस्तै भएको छ,’ उनले भने ।

रोङ–६ सलकपुरका युवाहरूले झापाका तिरिङवासीले इलामसम्म पुगेर मेची र सिद्धि खोला दोहन गरेको भन्दै गत हिउँदमा एक सातासम्म नहर बन्द गरिदिए । चुरे दोहन रोक्ने सर्तमा नहर खोलियो, तर चुरे दोहन रोकिएन । जसको परिणामस्वरूप सिद्धि नहर पहिरोले बगाएको वडाध्यक्ष स्याङ्बोले बताए । ‘हाम्रो वडाका युवाहरूले चुरे दोहन भयो । यसले पहिरो जान्छ भनेर नहर बन्द गरेका थिए । त्योवेला हामीलाई विभिन्न आरोप लगाइयो,’ उनले भने, ‘तर, अहिले साँच्चै नहर पहिरोले बगायो । अब पनि चुरे दोहन नरोक्ने हो भने नहर पनि रहँदैन ।’

अस्थायी रूपमा चलाउने प्रयत्न गर्दै छौँ : सिँचाइ कार्यालय
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय झापाले यो हिउँदमा सिद्धि खोला सिँचाइलाई अस्थायी रूपमा भए पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ । स्थायी रूपमा तत्काल सञ्चालन गर्न नसके पनि अस्थायी रूपमा नहर सञ्चालन हुने कार्यालय प्रमुख कृष्ण राजवंशीले जानकारी दिए । ‘हामीले त्यहाँ गएर अनुगमन ग¥यौँ । तत्काल अस्थायी रूपमा सञ्चालन गर्न सकिन्छ । यसका लागि बजेटको स्टिमेट तयार हुँदै छ । हामी यसका लागि प्रयत्न गर्दै छौँ’, उनले भने, ‘स्थायी मर्मतका लागि स्टिमेट बनाएर बजेटका लागि पहल गर्छौँ ।’
 

See More On

सुझावित समाचार