विदेशबाट गर्नुपर्ने उद्धार सकिएको सरकारको निर्णय, उद्धार गर्नुपर्ने अवस्थामा कोही नरहेको निष्कर्ष

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

सरकारले कोरोनापछाडि उत्पन्न परिस्थितिपछि विदेशबाट उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा अब कोही पनि बाँकी नरहेको निष्कर्ष निकालेको छ । 

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को १४औँ बैठकले यस्तो निष्कर्ष निकालेको हो । 

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले विदेशबाट अहिलेसम्म एक लाख ३६ हजार तीन सय १६ जनाको उद्धार भएको र अब उद्धार गर्नुपर्ने अवस्थामा कोही पनि नरहेको निष्कर्ष निकालेको सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए । 

उनले विभिन्न कूटनीतिक निकायबाट उद्धार आवश्यक रहेको कोही पनि नरहेको जनाएको बताए । 

यदि कोही कसैलाई उद्धार गरी ल्याउनुपरेमा नियमित उडानबाट समाहित गरेर मात्र ल्याउने निर्णय भएको सचिव गुरागाईंले बताए । 

त्यसैगरी बैठकले हाल खुला भएका नियमित उडानका अतिरिक्त दक्षिण एसियासहित विश्वका अन्य गन्तव्यबाट नियमित उडान खोल्न मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको छ ।

साथै देशमा पर्यटन गतिविधि खुला गर्न अनुमति दिन मन्त्रिपरिषदमा पठाउने निर्णय बैठकले गरेको छ । यसमा केबलकार, जंगल सफारी, सहासी पर्यटन खुला गर्नुपर्न सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिए ।

सुझावित समाचार