विपन्नलाई खाना खुवाउन वैकल्पिक स्थलको खोजी गर्ने सहमति, मेयर शाक्य भन्छन्– लखेट्न खोजेको होइन, व्यवस्थापन गर्न खोजेका हौँ
काठमाडौं महानगरका सार्वजनिक स्थलमा नि:शुल्क खाना खुवाउने काम बन्द गरिने भएको छ । महानगरपालिका र नि:शुल्क खाना खुवाउने अभियान सञ्चालन गरिरहेका संघसंस्थाले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखेर खुला ठाउँबाट खाना खुवाउन रोक्ने सहमति भएको छ ।
शुक्रबार भएको छलफलमा अहिले सञ्चालन भएजसरी १ मंसिरसम्म खाना खुवाउने सहमति भएको छ । २ मंसिरबाट खुला ठाउँमा खाना खुवाउने कार्य रोक्न अभियान सञ्चालक सहमत भएका छन् । त्यसपछि महानगरकै समन्वयमा व्यवस्थित रूपले खाना खुवाइने भएको छ । खुलामञ्चमा खाना खुवाउन कोरोनाको संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठामा आँच आउन सक्ने भएकाले महानगर र भोजन सेवा गराउँदै आएका संघसंस्थाले खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्ने सहमति गरेका हुन् ।
सहमतिअनुसार खुलामञ्चलगायत स्थानमा खाना खुवाउँदै आएका संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ । ‘खुलामञ्चलगायत सार्वजनिक खुला स्थानमा खाना खुवाउने कार्य बन्द गरी अन्य बन्द संरचनाभित्र खाना खुवाउने प्रबन्ध मिलाउने, यसका लागि खाना खुवाउँदै आउनुभएका संघसंस्था वा अभियन्ताहरूले ०७७ को भाइटीकाको दिनसम्म वैकल्पिक व्यवस्था गरी काठमाडौं महानगरपालिका तथा सम्बद्ध वडाको समन्वयमा आवश्यक व्यवस्था मिलाउने,’ सहमतिमा भनिएको छ ।
खुलामञ्चको सट्टा वैकल्पिक स्थान आवश्यक परे त्यस्ता बन्द स्थल पहिचान गरी त्यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको सहयोग एवं समन्वयमा गर्ने सहमतिमा उल्लेख छ । ‘भोजन सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउँदा सम्बद्ध संघसंस्थाले तथा अभियन्ताहरूले काठमाडौं महानगरपालिकाको समन्वयमा सल्लाह गरी क्षेत्रगत रूपमा स्थान खोजी गरी सेवा सुरु गर्ने, जसले गर्दा भिडभाड कम भई कोभिड–१९ को संक्रमण बढ्न नपाओस्,’ सहमतिमा भनिएको छ ।
सहमतिपत्रमा काठमाडौं महानगरसँगै हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं न्यु ग्रिनसिटी, हाम्रो सानो प्रयास, हाम्रो सानो टिम नेपाल, गसिब क्विन नेपाल, १०० ग्रुपलगायत संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
मेयर विद्यासुन्दर शाक्यले महानगर मानवीय सेवामा निरन्तर लागेको भन्दै निःशुल्क खाना वितरणलाई व्यवस्थित गर्नुपर्ने बताए । ‘खान नपाउने, बेरोजगार, अशक्त र असहायको सेवामा कोही छैन भन्नेका लागि स्थानीय सरकार छ भन्ने सन्देश दिन पनि हामी मानवीय सेवाका काममा लागिरहेका छौँ,’ मेयर शाक्यले भने, ‘खुलामञ्चमा भोजन सेवा गराउने संघसंस्थाप्रति हाम्रो कुनै वैरभाव छैन । हामीले खानबाट वञ्चित भएकालाई लखेट्न खोजेका होइनौँ, व्यवस्थित गर्न खोजेका हौँ । हामी व्यवस्थापन गर्छौँ ।’
राजनीतिक आग्रह–पूर्वाग्रहका हिसाबले भन्दा ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नीतिलाई सबैको नीति बनाएर अघि बढौँ भन्ने महानगरपालिकाको धारणा रहेको उनको भनाइ थियो । मेयर शाक्यले यसका लागि सम्बन्धित संस्थाका प्रतिनिधिसँग खाना खानेहरूको व्यवस्थापनका लागि चरण–चरणको छलफल भएको गराए ।