स्थानीय बासिन्दा आन्दोलनमा, चार दिनदेखि सडक अवरुद्ध पार्दा पनि सरकार मौन
सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नाराअन्तर्गत तीन वर्षमा कति काम भए र जनता कति सन्तुष्ट छन् भन्ने बुझ्न कर्णाली वा सूदुरपश्चिम पुग्नुपर्दैन, सिंहदरबारदेखि १० किलोमिटरको दूरीमा रहेको ललितपुरको ठेचोसम्मको यात्रा गर्दा हुन्छ । कालोपत्रे गर्न तीन वर्षअघि ठेक्का लागेको ढोलाहिटी–सुनाकोठी–ठेचो सडकखण्डको दूरी जम्मा ३.२ किलोमिटर छ । ठेकेदारले चाहेमा यो सडक कालोपत्रे गर्न अधिकतम १५ दिन लाग्छ । तर, कालोपत्रे हुनुपर्यो भनेर स्थानीय बासिन्दा फेरि आन्दोलनमा छन् ।
यो सडकखण्ड विस्तार र कालोपत्रे गर्न ०७४ मै दिवा/शैलुङ जेभीलाई ३८ करोड ४० लाखमा ठेक्का लिएको थियो । तर, ठेकेदार कम्पनीले सडक निर्माणमा चासो नदेखाउँदा स्थानीय बासिन्दा पटक–पटक आन्दोलनमा उत्रिन बाध्य छन् । जब कि, ३५ प्रतिशत मात्रै काम गरेर शैलुङका ठेकेदार शारदाप्रसाद अधिकारीले सरकारबाट सात करोड ८२ लाख ८७ हजार भुक्तानी भने लिइसकेका छन् ।
हिलो, धुलो र प्रदूषणबाट आजित बनेका स्थानीयले पछिल्लोपटक १६ कात्तिकदेखि फेरि सडक अवरुद्ध गरेका छन् । ‘करिब एक वर्षअघि हामीले कालोपत्रे गर्न भन्यौँ, त्यसवेला पनि हुन्छ भनेर मख्ख पारे । त्यसपछि गएको असारमा फेरि सडक ठप्प पार्यौँ, वडाध्यक्ष, सडक आयोजना र ठेकेदार सबै बसेर सहमति भयो । तर, सहमतिअनुसार ठेकेदारले सडक बनाउने त परको कुरा धुलो उड्न नदिन पानी पनि हालेनन्,’ स्थानीय नेवाज क्लबका अध्यक्ष निरोज महर्जनले भने, ‘अब त अति भयो, एउटा नागरिकका रूपमा अपहेलित महसुस भयो, त्यसैले फेरि सडक ठप्प पारेका हौँ,’ महर्जनले भने, ‘अब उधारो सहमति होइन, सडकमा कालोपत्रे सुरु नभइन्जेल आन्दोलन गर्छौँ ।’
बरु, यसबीचमा क्लबले दैनिक दुईपटक सडकमा पानी हालेर धुलो नउड्न दिने अभियान चलायो । ठेकेदारको रवैया अति भएपछि स्थानीयले अपहेलित महसुस गरेका छन् । उनीहरूले तीन किलोमिटर लामो सडकखण्डमा चारैतिरबाट सडकमा बार लगाएर अवरुद्ध पारेका छन् । ‘कसैलाई दुःख दिने नियत होइन, हाम्रो माग सरकारले सुनेन । त्यसैले बाध्य भएर यस्तो आन्दोलन गर्नुपरेको हो,’ सिभिल कोलोनी सोसाइटीका अध्यक्ष डा. रुवनलाल श्रेष्ठले भने ।
यो सडकखण्ड ललितपुरका लेले, चापागाउँलगायत माथिल्ला बस्तीबाट चक्रपथ ओर्लिने लाइफलाइन हो । तर, ठेकेदार र कर्मचारीको मिलेमताले निर्माण कार्य प्रभावित भएको हुँदा जनताले दुःख पाएको स्थानीय रवीन्द्रदास हाडाको आरोप छ । ‘पहिले कालोपत्रे नै थियो, तीन वर्षअघि सडक विस्तार र कालोपत्रे गर्ने भनेर भत्काइयो । हुँदाहुँदैको सडक खनेको तीन वर्ष भइसक्यो, पुनः कालोपत्रे गर्ने छाँटकाँट देखिँदैन,’ उनले भने, ‘हामीले घरको आँगन बनाइदेऊ भनेको होइन, सडक बनाइदेऊ भनेको हो । अहिलेदेखि होइन तीन वर्ष भइसक्यो, हामीले पनि कर तिरेका छौँ, यसरी कहिलेसम्म सहेर बस्नुपर्ने ?’
यो सडकखण्ड ललितपुर महानगरपालिकाको वडा नम्बर २६ र २७ पर्छ । स्थानीयले पटक–पटक सडक ठप्प पारेर आन्दोलन गरे पनि त्यसबारे बुझ्न महानगरका मेयर र अन्य जनप्रतिनिधि अहिलेसम्म पुगेका छैनन् । सुनाकोठी चौताराका सुन्दर कार्की भन्छन्, ‘हामीलाई महानगरबासी हौँ भन्न पनि लाज लाग्छ ।’
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले पूर्वतयारीका काम नगरी ठेक्का दिँदा समयमै निर्माण कार्य नभएको बताए । ‘सडक नबन्नुमा ठेकेदारको मात्रै गल्ती छैन । मुख्यतः ठेक्का लगाउनुभन्दा पहिले गर्नुपर्ने काम नगरी ठेक्का दिएपछि समस्या आएको हो । वातावरणीय प्रभाव मूल्यांकन र जग्गा प्राप्तिजस्ता महत्वपूर्ण प्रक्रिया पूरा नगरी ठेक्का दिइयो । जसले गर्दा समयमै काम अघि बढाउन नसकिएको हो,’ उनले भने । अहिले आन्दोलन भइरहेको ढोलाहिटी–सुनाकोठी क्षेत्रमा केही दिनमै कालोपत्रे सुरु गर्ने गरी तयारी भएको उनले बताए ।
यसकारण बनेन सडक ?
सडक विस्तार गरी २२ मिटर चौडा र कालोपत्रे गर्न सरकारले २६ जेठ ०७४ मा दिवा÷शैलुङ जेभीलाई ठेक्का दिएको थियो । दुईतिर चार मिटर चौडाइको फुटपाथसहित व्यवस्थित सडक निर्माण गर्ने इस्टिमेट थियो । तर, स्थानीयबासीले जग्गा नदिएपछि तत्कालै विस्तारको काम हुन पाएन ।
सडक धुलाम्मे भएर सास्ती भएको भन्दै स्थानीयले आन्दोलन गरेपछि सरकारले ३ पुस ०७६ मा जति उपलब्ध छ, त्यतिमै सडक कालोपत्रे गर्ने निर्णय ग¥यो । तर, त्यसपछि पनि ठेकेदारले काम गरेको छैन । ‘काम गर्न चाहँदा १५–२० दिनको मात्रै हो, तर ठेकेदारले काम गर्न नै चाहेका छैनन्,’ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अधिकारीले भने ।
शैलुङ कम्पनीले असोज दोस्रो सातासम्म आधा काम सक्ने र कात्तिक मसान्तभित्र कालोपत्रे गरिसक्ने प्रतिबद्धता आयोजनासामु गरेको थियो । तर, अहिलेसम्म फिल्डमा कामै सुरु नभएको आयोजना प्रमुख अधिकारीले बताए । सडकमा अहिलेसम्म कामको प्रगति ३५ प्रतिशत मात्रै छ । तर, कम्पनीले सात करोड ८२ लाख ८७ हजार रुपैयाँ भने भुक्तानी लिइसकेको छ ।
यही सडकखण्डमा चापागाउँ–सरस्वतीकुण्डको ९.८ किलोमिटर सडक विस्तारको काम पनि अलपत्र छ । आयोजना कार्यालयका अनुसार सो सडकअन्तर्गत कन्टेक प्रालिले चार किमि, पप्पु/महालक्ष्मी/वर्ल्डवाइड जेभीले ५.८ किमि सडक विस्तार र कालोपत्रेको ठेक्का लिएका छन् । दुवैले बल्ल कालोपत्रे गर्ने तयारी गरिरहेको आयोजना प्रमुख अधिकारीले बताए । कन्टेकको प्रगति २५ प्रतिशत र पप्पु/महालक्ष्मी/वर्ल्डवाइड जेभीको प्रगति ५० प्रतिशत मात्रै छ ।