रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले करार सम्झौता रद्द गरेका डेढ सय शिक्षक, कर्मचारीहरूलाई पुनः नियुक्त गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण करार सम्झौता रद्द गरिएका शिक्षकहरूको करार सम्झौता आठ महिनापछि पुनः थप गरिएको हो ।
नगरपालिका आफैँले नियुक्त गरेका शिक्षक तथा कर्मचारीहरूको करार सम्झौता गत वैशाखमा रद्द गरेको थियो । राजस्व बाँडफाँड शीर्षकबाट आउनुपर्ने बजेट नआएको र विद्यालयसमेत बन्द रहेको अवस्थामा एक सय ६६ जना शिक्षक, कर्मचारीहरूलाई हटाएको थियो ।
सम्बन्धित विद्यालय र नगर शिक्षा, युवा तथा खेलकुद शाखाबाट गरिएको कार्यसम्पादन मूल्यांकनबाट सफल भएका एक सय ४५ जनाको करार सम्झौता नवीकरण गरेको नगर शिक्षा समितिले जनाएको छ ।
सहिद स्मृति नमुना माध्यमिक विद्यालयमा कार्यरत पाँचजना शिक्षक, कर्मचारीको करार सम्झौता पनि थप गरिएको छ । उनीहरूको असोज २१ र अन्य डेढ सय शिक्षक, कर्मचारीको कात्तिक १ देखि लागू हुने गरी करार सम्झौता नवीकरण भएको नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
दरबन्दीअनुसार शिक्षक नभएको तथा विद्यार्थी संख्याका आधारमा दरबन्दी नहुँदा पठनपाठनमा बाधा पुगिरहेको निष्कर्ष निकाल्दै नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ मा एक सय ८२ जना शिक्षकलाई करार स्वयंसेवकका रूपमा नियुक्त गरेको थियो ।
तर, बजेट अभाव भएको र तलब भत्ता खुवाउन नसकिने भन्दै नगरपालिकाले गत वैशाखमा प्रध्यानाध्यापक तथा अन्य गरी १६ जना शिक्षक कर्मचारीबाहेक एक सय ६६ जनाको सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।
अहिले करार सम्झौता रद्द भएकामध्ये एक सय ४५ जनालाई मात्र पुनर्नियुक्ति गरिएको छ ।
बाँकी २१ जनामध्ये केहीको कार्यसम्पादन मूल्यांकन राम्रो नभएकाले हटाइएको र केहिले आफैँ छाडेको नगर प्रमुख तथा नगर शिक्षा समितिका संयोजक गोर्खबहादुर केसीले जानकारी दिए ।
आन्तरिक स्रोत तथा सरकारले दिने अनुदान रकमबाट तलब भत्ता खुवाउने गरी एक सय ४५ जना शिक्षकलाई पुनः नियुक्त गरिएको उनको बताए ।