संघीय संसद् भवन निर्माणमा एक हजार कामदार परिचालन गर्ने तयारी

अहिलेकै संसद्को अन्तिम अधिवेशन बस्ने गरी संघीय संसद् भवन निर्माण सक्न निर्देशन

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन अहिलेकै संसद्को अन्तिम अधिवेशन बस्ने गरी सम्पन्न गर्न निर्देशन दिएका छन् । आइतबार निर्माणाधीन भवन अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठले संघीय संसद्को अन्तिम बैठक यही भवनमा बस्ने बताए ।

‘गुणस्तरमा कुनै कमिकमजोरी नहुने गरी तोकिएकै समयमा निर्माण गर्न र सम्पन्न गर्नका लागि सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको छ,’ उनले भने । मन्त्री श्रेष्ठले सबै इन्जिनियर, कर्मचारी र मदजुरलाई स्वास्थ्य मापदण्ड पालना गरी कुनै दिन पनि काम नरोक्न निर्देशन दिए । ‘सबै मजदुरको पिसिआर गरेर कार्यस्थलमै रहने गरी काम गर्नुस्, आवश्यकता परे मन्त्रालयले सहयोग गर्नेछ,’ उनले भने । 

संघीय सरकारको निर्माणाधीन संसद् भवनको कामलाई गति दिन चाँडै नै १ हजार कामदार परिचालन गर्ने तयारी गरिएको छ । संघीय संसद् भवन आयोजना प्रमुख प्रकृण तुलाधरका अनुसार छठलगत्तै करिब १ हजार मजदुर परिचालन गरी तोकिएकै समयमा निर्माण सम्पन्न गरिनेछ । ‘दुई सिफ्ट गरेर भए पनि २४ घन्टा काम गर्ने गरी तयारी भइरहेको छ,’ उनले भने ।

केही प्राविधिक कठिनाइबाहेक अन्य कुनै समस्या नभएको उनको भनाइ छ । संघीय संसद् भवन आयोजना प्रमुख तुलाधरले कोभिड संक्रमणका कारण निर्माण सम्पन्न हुन केही ढिलो हुन सक्ने बताए । ‘तैपनि तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई दबाब दिइसकेका छौँ,’ उनले भने । 

सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले संघीय संसद् भवन निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने गरी योजना अघि बढिरहेको बताए । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले कोभिडका कारण काम गर्न केही समस्या भएको स्विकार्दै अब जस्तो परिस्थिति भए पनि कामलाई निरन्तर रूपमा अघि बढाउने बताए । 

सिंहदरबारको पुतली बगैँचामा १ सय ७३ रोपनी क्षेत्रफलमा प्रतिनिधि सभा, राष्ट्रिय सभा, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, संसदीय दल, समिति, सचिवालय, चमेनागृह र प्रिन्टिङ प्रेस भवन रहनेछन् । भवन परिसरमा ७ सय सवारी पार्किङ गर्ने व्यवस्था रहेको छ । संसद् भवन निर्माणका लागि १० अर्ब रुपैयाँ लाग्नेछ । यो भवन टुडी सेक ज्वाइन्ट भेन्जरले निर्माण गरिरहेको छ ।

परियोजनाको अवधि २०७९ असोज १५ सम्म छ । अब दुई वर्षमा सबै काम सक्ने गरी २४सै घन्टा काम भइरहेको आयोजना प्रमुख प्रकृण तुलाधरको भनाइ छ । भवनको वर्ष दिनअघि १ असोजमा प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए । चालू आवमा २५ प्रतिशत प्रगति गर्ने योजना भए पनि हालसम्म करिब १२ प्रतिशत मात्र प्रगति भएको आयोजना प्रमुख तुलाधरले जानकारी दिए । 

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आइतबार नै भैँसेपाटीस्थित मन्त्री, मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास भ्रमण गरेर समयमा काम सम्पन्न गर्न निर्देशन दिएका छन् । ‘समयमै सक्ने गरी थप मजदुरको व्यवस्थापन गर्नुस्,’ उनले भने । परियोजनाका साइट इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले कोभिडका कारण केही समय समस्या आए पनि हाल निर्माणमा सन्तोषजनक रहेको जानकारी दिए । 

गएको वर्ष २७ कात्तिकदेखि सम्झौता भएर आगामी वर्ष २७ कात्तिकमै सम्पन्न गर्ने गरी तयार गर्ने योजना छ । भैँसेपाटीमा बन्ने २४ वटा मन्त्रीनिवास, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्षको भवनको लागत १ अर्ब ३ करोड रहेको छ । मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको लागत ७२ करोड ४७ लाख रुपैयाँ छ । 
 

सुझावित समाचार