सुदूरपश्चिममा बलात्कारका घटना बढ्दै गएका छन् । प्रहरीको तथ्यांकअनुसार औसतमा हरेक दुई दिनमा एउटा बलात्कारको घटना हुने गरेको छ । गत आर्थिक वर्षमा सुदूरपश्चिमका विभिन्न जिल्लामा एक सय ९९ वटा बलात्कारमा मुद्दा दर्ता भएका छन् । पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने सुदूरपश्चिममा जबर्जस्ती करणीका घटना तीन गुणा बढेको छ । जबर्जस्ती करणीको प्रयासका घटना पनि बढ्दै गएका प्रहरी तथ्यांकले देखाउँछ ।
आर्थिक वर्ष ०७४/७५ मा सुदूरपश्चिमका नौ जिल्लामा जबर्जस्ती करणीका ९७ वटा घटना प्रहरीमा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । महिला हिंसाको प्रमुख कारण ठानिएको बहुविवाह र बालविवाहका घटना पनि बर्सेनि बढ्दो क्रममा छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह बलात्कारका घटना न्यूनीकरण प्रहरीका लागि चुनौतीको विषय बनेको बताउँछन् ।
कैलाली र कञ्चनपुरमा बढी घटना
गत तीन आर्थिक वर्षमा सुदूरपश्चिममा महिला र बालबालिका पीडित भएका बलात्कार, बलात्कारको प्रयास, बालविवाह, बहुविवाह, बेचबिखन तथा ओसारपसारका नौ सय ४७ वटा घटना भएका प्रहरी वरिष्ठ उपरीक्षक सिंहले जानकारी दिए । यस्ता घटना सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा रहेका उनले बताए ।
जनसंख्याको चाप बढी हुनुले तराईका यी दुई जिल्लामा बलात्कार, बलात्कारको प्रयास, बहुविवाहका घटना बढी देखिएको प्रहरीको दाबी छ । भारतसँगको खुला सिमानाका कारण महिला र बालबालिका बेचबिखन तथा ओसारपसारका घटना पनि कैलाली र कञ्चनपुरमै बढी देखिएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दोषीलाई उन्मुक्तिले बढायो बलात्कार : अधिकारकर्मी
महिला अधिकारकर्मी वसन्ती चौधरी दोषीलाई कारबाहीको दायरामा ल्याउन नसक्नुले पनि बलात्कारका घटनाले प्रश्रय पाइरहेको बताउँछिन् । कतिपय ठाउँमा जनप्रतिनिधिले नै बलात्कारका घटना गाउँमै मिलाउने गरेको पाइएकाले बलात्कारमा संलग्नको आत्मबल बढेको चौधरीको भनाइ छ । कानुन कार्यान्वयनको पक्ष पनि फितलो रहेको उनले बताइन् ।
‘धेरैजसो घटनामा दोषीलाई कारबाही हुँदैन । जनप्रतिनिधिले पनि बलात्कारका घटना गाउँमै मिलाउने गरेका समाचार सार्वजनिक हुँदै आएका छन्,’ उनी भन्छिन्, ‘बलात्कारी र मिलापत्र गराउनेलाई कारबाही गरे मात्र घटनामा कमी आउँछ ।’ पहुँचवाला जोडिएको घटनामा प्रहरी अनुसन्धान पनि पीडकको पक्षमा देखिने गरेको उनीहरूको भनाइ छ ।
अधिवक्ता गम्भीरसिंह ऐर घरपरिवार र नातागोताभित्रै हुने बलात्कारका घटना अझै न्यून रूपमा बाहिर आउने गरेको बताउँछन् । सामाजिक, पारिवारिक इज्जतको डरले परिवारभित्रै हुने बलात्कारसम्बन्धी घटना बाहिर आउन नसकेको उनको भनाइ छ ।
उजुरी बढेकाले घटना बढेको देखियो : प्रहरी
प्रहरी वरिष्ठ उपरीक्षक सिंह भने बलात्कारका घटना लुकाउने प्रवृत्तिमा कमी आएकाले संख्यात्मक रूपमा घटना बढी देखिएको बताउँछन् । ‘अपराध पनि बढेको हो । अर्को कारण बलात्कारका मुद्दा प्रहरीमा आउनुले पनि संख्या बढ्दै गएको हो,’ उनले भने, ‘विगतमा मेलमिलाप गराउने अवस्था थियो, अहिले छैन ।’ प्रहरीकहाँ आएका घटनामध्ये करिब ९९ प्रतिशत कारबाहीको दायरामा आएका उनको दाबी छ ।