स्वर्गीय नेता मदन भण्डारी जन्मिएको ताप्लेजुङको घरलाई लिपपोत गरेर सिंँगारिएकाे छ।
मक्किएर भत्कने अवस्थामा रहेकाे घरलाई अनेरास्ववियुले लिपपोत गरेकाे ताप्लेजुङ–काठमाडौं सम्पर्क समितिका सदस्य हेमराज निरौलाले बताए ।
अहिले त्यस घरलाई नियमित रूपले हेरचाह गर्ने कोही नदेखिए पनि नेकपानिकटका विद्यार्थी तथा युवा पुगेर यसरी नै मर्मतसम्भार गर्ने गर्छन् ।
बडादसैँ नजिकिएसँगै गाउँका घर चिटिक्क सिँगारिँदा आइतबार भण्डारीका घरमा समेत लिपपोत भएको छ । निरौलाले बेलायतमा रहेका अर्जुन खिम्दिङको आर्थिक सहयोगमा लिपपोत गरिएको जानकारी दिए ।
लिपपोत र सरसफाइका लागि अनेरास्ववियु ताप्लेजुङ–काठमाडौं सम्पर्क समितिका अध्यक्ष रुपेन्द्र बनेमसहित आठ विद्यार्थी नेता–कार्यकर्ता ढुंगेसाँघु पुगेका थिए ।
अनेरास्ववियुसम्बद्ध नेताहरूले नेपालको परिवर्तनकारी आन्दोलन र जननेता भण्डारीको जन्म र बाल्यकालसँग जोडिएको ऐतिहासिक महत्वको सो घरलाई संरक्षण गर्न आवश्यक रहेकाे बताए ।
भण्डारीको जन्म २००९ साल असार १४ गते भएको हो । घरअगाडि रहेकाे ढिकीनजिक भण्डारीको जन्म भएको बताइन्छ । उक्त ढिकी अझै पनि देख्न पाइन्छ ।
०१५ मा गाउँमै एउटा हिउँदे पाठशालाबाट नै भण्डारी औपचारिक शिक्षातर्फ प्रवेश गरेका थिए । पन्ध्र वर्षका उमेरसम्म गाउँघरमा नै भण्डारीको जीवन बितेको थियो।
०२४ मा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाइँ सरेपछि घरसहितको जग्गा स्थानीयवासीले किनेर भोगचलन गरेको र किनबेच हुँदै पछिल्लो समय घरसहित सम्पूर्ण जग्गाको केही भाग मदन भण्डारी स्मृति प्रतिष्ठानका नाममा छ ।
सो क्षेत्रलाई नमुना क्षेत्रका रूपमा विकास गर्न राज्यस्तरबाटै केही कार्यक्रम गर्ने गरी प्रतिष्ठानले घरजग्गा लिएको थियो ।
पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा भण्डारी जन्मघर संरक्षण तथा स्मृति उद्यान निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट चालू आर्थिक वर्षमा रु. ३० लाख विनियोजन भएको छ ।
विनियोजित सो बजेटबाट घरको वरिपरि पर्खालसहितको घेराबार गर्ने र नजिकैको ढुंगेधारालाई संरक्षण गर्ने तयारी भएको वडाध्यक्ष सुरेन्द्र लिम्बूले जानकारी दिए ।
उनका अनुसार यसका लागि उपभोक्ता समितिसमेत बनिसकेको छ र दसैँलगत्तै काम सुरु हुनेछ । पालिकाको सहयोगमा गत वर्ष नै स्मृति उद्यानसहितका संरचना बनाउन विस्तृत परियोजना प्रतिवेदन भने तयार भइसकेको छ ।
प्रदेश सरकारबाट प्राविधिक शिक्षालयका लागि संरचना तयार गर्न चालू आर्थिक वर्षमा रु. एक करोड विनियोजन भएको अध्यक्ष लिम्बूले जानकारी दिए ।