लुटपाटसहित हत्यामा संलग्न तीन पक्राउ

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले मुख्य योजनाकारसहित तीनजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ र प्रेम तामाङ रहेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका– ८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा संलग्न उनीहरूलाई प्रहरीले बौद्ध क्षेत्रबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

जग्गा हेर्न भन्दै गएका उनीहरूले गत हप्ता योञ्जनलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते योञ्जनको उपचारका क्रममा मृत्यु भएको थियो । 

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले उनीहरूले जग्गा किन्ने बहाना बनाएर मृतक योञ्जनसँग रहेको सुन लुट्न कुटपिट गरेको बताए । 

कुटपिटबाट योञ्जनको पेट, छाती र अनुहारमा गम्भीर चोट देखिएको उनले बताए । 

कुटपिटपछि उनीहरू दुई तोला दुई लालको ब्रासलेट र मोबाइल लिएर फरार भएका थिए । प्रहरीले घटनास्थलमा भेटिएको हेलमेटका आधारमा अनुसन्धान गरी अपराधीहरूलाई पक्राउ गर्न सफल भएको उनले बताए । 

उनीहरूको साथबाट बा.९६प ७११४ नम्बरको मोटरसाइकल, सुन बिक्रीबाट प्राप्त एक लाख ५५ हजारमध्ये ५४ हजार ६ सय रुपैयाँ नगद पनि र एक तोला दुई लाल सुन बरामद गरिएको छ । 

कर्तव्य ज्यान मुद्दा र लुटपाट अभियोमा उनीहरूलाई भक्तपुर जिल्ला अदालत लगिने प्रहरीले बताएको छ । अपरेसनमा संलग्न प्रहरी अधिकारी र जवानहरूलाई नगदसहित सम्मान पनि गरिएको छ ।

सुझावित समाचार