विगतमा दसैँका वेला भिडभाड हुने विशाल बजार, पशुपति प्लाजा, रञ्जना ट्रेड, सुरज आर्केड, काठमाडौं मल, सिटी सेन्टर, लबिम मल, पिपुल्स प्लाजाजस्ता सपिङ मल अहिले सुनसान, व्यवसायी भन्छन्– कोरोना महामारीले ९० प्रतिशत व्यापार खुम्चियो
चाडपर्वका वेला काठमाडौंको भित्री पुरानो बजार धेरै नै व्यस्त हुन्छ । अझ दसैँ–तिहारको समयमा यहाँ सहजै पाइला राख्न मुस्किल पर्छ । विगतमा इन्द्रचोकदेखि रत्नपार्कसम्म १० देखि १५ मिनेटभित्र पार गर्न सके ठूलै युद्ध जितेसरह हुन्थ्यो । तर, अहिले यिनै स्थानमा सहजै वारपार गर्न सकिने अवस्था छ । पैदलयात्रु आनन्दले गफिँदै हिँडेको देख्न सकिन्छ । न्युरोड, खिचापोखरी, महाबौद्ध, इन्द्रचोक, जनबहाल तथा असन क्षेत्रमा तुलनात्मक रूपमा मानिसको भिडभाड नै देखिन्छ । काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमितको संख्या बढिरहे पनि बजारमा देखिएको भिडभाडले दसैँबजार गुल्जार भएको अनुमान गर्न सकिन्छ । तर, वास्तविक अवस्था भने निकै फरक छ । व्यापारी फुर्सदमा छन् । पसलमा किन्नेभन्दा पनि मोलमोलाई गर्न आउने बढी देखिन्छन् । असली ग्राहक नआउँदा व्यापारीहरू चिन्तामा छन् । अधिकांश घुम्ने र बजार भाउ बुझ्न मात्र आउने गरेको उनीहरूको भनाइ छ ।
गत वर्ष यही समयमा न्युरोड, इन्द्रचोक, असन, महाबौद्ध तथा मासंगल्लीका व्यापारीलाई भ्याइनभ्याई थियो । पसल हेरी दैनिक औसतमा ५० हजारदेखि एक लाख रुपैयाँमाथिसम्म व्यापार हुन्थ्यो । तर, कोरोना महामारीका कारण दैनिक लाखभन्दा बढी कमाइ गर्ने व्यापारीको आम्दानी ३०–५० प्रतिशतमा झरेको छ । उनीहरू अहिले दैनिक कतिको व्यापार भयो भन्दा पनि कतिजना ग्राहक पसलभित्र छिरे र किन्नेको तथ्यांक राख्दै दिन बिताउने गरेको भेटिन्छन् । ‘हेर्दा यहाँ इन्द्रचोकदेखि असनसम्म भिड नै देखिन्छ, तर यो केवल देखाउने मात्र भिड भएको छ, व्यापार छैन,’ इन्द्रचोक–चोखाछे गल्लीका लत्ताकपडा व्यापारी रामकुमार श्रेष्ठ भन्छन्, ‘दसैँ मुखैमा छ, यो वेला किनमेल गर्न मानिसको भिड लागिसक्नुपर्ने थियो, तर गत वर्षको जस्तो छैन ।’ गत वर्ष दसैँअगाडि उनले दिनमा औसत ७० हजार रुपैयाँमाथि व्यापार गरेका थिए । भन्छन्, ‘गत वर्ष यही समयमा हामीलाई भ्याइनभ्याई थियो, आम्दानी पनि राम्रो थियो, अहिले व्यापार २० प्रतिशत मात्र देखिन्छ ।’
.....
यो वर्ष पुरुषोत्तम महिना भएकाले पनि बजार एक महिनाअघि नै तातिसक्नुपर्ने असनका खुद्रा व्यापारी रमेश डंगोल बताउँछन् । ‘दसैँ एक महिना पछि सरेको छ, तर पनि बजारको अवस्था शून्य नै छ,’ डंगोल भन्छन्, ‘यो असोज महिनामा असनमा खुट्टा टेक्न स्थान नै हँुदैनथ्यो, अहिले मज्जाले हिँड्न सकिन्छ, व्यापार नै छैन । असोजमा दसैँ र तिहारका लागि किनमेल गर्न बजार आउने धेरै हुन्थे । घर फर्कने परिवारले किनमेल यसै समयमा गर्थे । तर, अहिले यस्तो केही छैन, बजारमा चहलपहल बढे पनि व्यापार छैन ।’
जनबहालका साडी व्यापारी पुरुषोत्तम अग्रवालले लकडाउन र निषेधाज्ञा हटेपछि दसैँअघि राम्रै व्यापार हुने आस गरेका थिए । लकडाउनले चार–पाँच महिना उनको साडी पसल बन्द रह्यो । नयाँ वर्ष, साउन महिना तथा तिजको समय आम्दानी हुने सिजन थियो । तर, यसपटक यस्तो केही पनि भएन । साउन र तिजको समयमा लकडाउन खुला भए पनि व्यापारले पसल भाडा तिर्न नै नपुगेको उनी बताउँछन् । अग्रवाल भन्छन्, ‘दसैँमा अलि राम्रो व्यापार हुन्छ भन्ने सोचेको थिएँ, तर त्यस्तो भएन, अहिले त पसलभाडा तिर्न नै मुस्किल छ ।’ उनले पसलको प्रतिमहिना ५० हजार रुपैयाँ भाडा तिर्दै आएका छन् ।
.....
दसैँको समयमा विशेष गरी लत्ताकपडा, जुत्ताको व्यापार बढी हुने गर्छ । न्युरोड, महाबौद्धको होलसेल तथा खिचापोखरीमा रहेका यस्ता पसलमा भिडभाड बढी हुने गर्छ । कोभिड–१९ का कारण अहिले यी क्षेत्रमा चहलपहल देखिए पनि व्यापार व्यवसाय भने विगत वर्षभन्दा निकै घटेको छ । विशाल बजार, पशुपति प्लाजा, रञ्जना ट्रेड, सुरज आर्केड र पिपुल्स प्लाजा शून्यझैँ छन् । रञ्जना ट्रेडका होलसेल व्यापारी सुरज बैजुले ९० प्रतिशत व्यापार सुकेको बताउँछन् । बैजु भन्छन्, ‘गत वर्ष यो समयमा हामी मात्र नभएर भरियासमेत अति व्यस्त थिए, अहिले सबै चुप लागेर बस्नुपरेको छ, दिनमा दश हजार पनि व्यापार हुँदैन ।’
दसैँका वेला केही आम्दानी गरी बैंकबाट लिएको ऋण तिर्ने उनले सोच बनाएका थिए । तर, दसैँको समयमै बजार सुकेपछि बैंकको किस्ता कसरी तिर्ने भन्ने चिन्तामा उनी छन् । ‘अगाडिका महिनामा लकडाउन नै थियो, केही भन्ने कुरा नै भएन, तर लकडाउन खुकुलो हुँदा गत वर्षझैँ व्यापार हुने विश्वास थियो, यसबाट ऋण तिर्ने सोचेको थिएँ, अब घटस्थापना आउन दश दिन मात्र बाँकी छ, बजार नै खल्लो छ,’ उनले भने, ‘सधैँ व्यस्त हुने व्यापारी अहिले दिन कटाउन मोबाइलमा गेम खेलेर बसेका हुन्छन् ।’
सिभिल मलका जुत्ता र कपडा व्यवसायी रमेश गुरुङका अनुसार कोरोनाले व्यापार ८० प्रतिशतले घटेको छ । चाडपर्वको समयमा नेपाली बजारमा नयाँ सामग्री आउन सकेका छैनन् । पुरानै स्टकका सामान चलायमान भइरहेको छ । चीनका विभिन्न सहरमा अर्डर दिएका सामान अड्किएको छ । नाकाबाट कन्टेनर नआउँदा बजारमा पुरानै स्टक सामान चलाउनुपरेको गुरुङ बताउँछन् । ‘जसले गर्दा नियमित ग्राहक पनि टाढिएका छन्,’ उनले भने, ‘कोरोनाको प्रभावले एक वा दुईजना मात्र परिवारका सदस्य आउने गर्छन्, स–साना बालबच्चा ल्याउँदा जोखिम बढ्छ ।’
त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरका कस्मेटिक व्यापारी सरोज महर्जनको अनुभव पनि गुरुङकैजस्तो छ । ‘अहिले काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ, बाहिर आउन पनि डर लाग्छ, केही भएमा यसको जिम्मेवारी कसैले पनि लिँदैन, बजारमा व्यापार घटनुको पछाडि यो पनि हुन सक्छ,’ उनी भन्छन्, ‘यहाँको बजार पनि सुनसान नै छ ।’
......
सरकारले लकडाउन र निषेधाज्ञा खुकुलो बनाएर आर्थिक गतिविधि बढाउन प्रयास नगरेको भने होइन । तर, तीव्र रूपमा फैलिएको कोरोनाले परिस्थिति गम्भीर बनाएको छ । कोरोना प्रभावबाट बाहिर आउन अझै दुई तीन वर्ष लाग्न सक्ने व्यापारी व्यवसायी बताउँछन् । कोरोनाका कारण विगतमा ठूलो लगानी गरेका व्यापारी चिन्तित बनेका छन् । सोचेजस्तो व्यापार नभएकाले बैंक र फाइनान्सको किस्ता कसरी तिर्ने भन्ने समस्या उनीहरूमा देखिएको छ । ‘निषेधाज्ञापछि एक महिना बजार खुला भएको महसुस भएको छ, तर जुन गतिमा बजार चलायमान हुनुपर्ने हो, त्यो भएन । यसले समस्या दिनप्रतिदिन थपिएको छ,’ महाबौद्धका जुत्ता व्यापारी महेश श्रेष्ठ भन्छन्, ‘बरु लकडाउन हुँदा केही छैन भनी बस्यौँ, बिस्तारै खुकुलो हुँदा आशा बढ्यो अझ दसैँ बाँकी नै छ भन्ने भयो, दसैँ आइसकेको छ, बजार भने उस्तै छ ।’ श्रेष्ठजस्तै महाबौद्धका धेरै होलसेल व्यापारी पुरानै दिनको प्रतीक्षामा छन् ।