तीन महिनापछि खुलेको तातोपानी नाका एक दिन खुलेर फेरि बन्द, नयाँ मोडालिटीबारे छलफल हुँदै

मंगलबार, २० असोज, २०७७
डिजिटल संस्करण

तीन महिनापछि खुलेको तातोपानी नाका आइतबार एक दिन खुलेर सोमबार बन्द भएको छ । भन्सार सामग्री लोड–अनलोड गर्ने मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले चीनले एकतर्फी रूपमा आयात बन्द गरेको हो । 

नेपालमा परीक्षण गर्दा तीनैजना मजदुरको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकोले सोमबारका लागि आयात बन्द गरिएको बताइएको छ । १३ असोजमा नेपाल–चीन अधिकारीबीच मितेरीपुलमा भएको बैठकमा काेरोना भाइरस नियन्त्रण गर्ने सर्तमा नाका खुलाउने सहमति भएको थियो ।

कोरोना संक्रमण फैलन सक्ने भएकोले दुवैतर्फबाट सजगता अपनाउने विषयमा छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । चीनतर्फ कोरोना परीक्षण गर्दा तीन मजदुरको रिपोर्ट पोजेटिभ आएको भन्दै आयात मोडालिटी परिवर्तन गर्नुपर्ने जानकारी आएको उनले बताए । 

खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दसैँअघि काठमाडौं पुर्याउने योजनामुताबिक दुवै देशको सहमतिमा नाका खुलेको हो । सीमाबाट कोरोना फैलन सक्ने भन्दै जांमु प्रशासनले चीनतर्फ मितेरीपुलमा ल्याइएको सामान अर्को निर्णय नभएसम्म नेपालतर्फ नपठाउने भएको छ ।

नजिकिँदो दसैँ प्रभावित नहोस् भनेर चिनियाँ अधिकारीसँग आयातको नयाँ मोडालिटीबारे छलफल जारी रहेको सिडिओ ढकालले जानकारी दिए । सुक्खा बन्दरगाह लार्चास्थित तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले नयाँ मोडालिटीबारे छलफल भइरहेको बताए ।

तातोपानी भन्सारमा लोड–अनलोड गर्ने ३६ मजदुरको पिसिआर परीक्षण गराउँदा नेपालको ल्याबले तीनजनाको नेगेटिभ देखाएको थियो । परीक्षण सर्टिफिकेट बोकेर लोड–अनलोड गरिरहेका ३३ मजदुरको चिनियाँ क्षेत्रमा पिसिआर परीक्षण गर्दा तीन जनाको पोजेटिभ देखियो । यसैलाई आधार मानेर चिनियाँ अधिकारीले आयातमा कडाइ गर्ने संकेत गरेका छन् । 

नेपालमा नेगेटिभ रिपोर्ट आएको दुई दिनपछि खासा क्षेत्रमा परीक्षण गर्दा तीनजनामा पोजेटिभ आएकोले आयात प्रभावित भएको खत्रीले बताए । तर, नाकालाई सुचारु राख्न गम्भीर रूपमा पहल भइरहेको उनले बताए ।

पिसिआर मेसिन र डाक्टरको टिम आउँदो हप्ता तातोपानी भन्सार आएपछि मजदुरको कोरोना परीक्षण नियमित गर्ने खत्रीले बताए । खासाबाट चिनियाँ ड्राइभरले सीधै नेपालतिरको भन्सार यार्डमा ल्याएर सामान खसाल्ने मोडालिटीमा छलफल भइरहेको उनले बताए । हालसम्म १२ कन्टेनर सामान नेपाल भित्रिएका छन् । 

सुझावित समाचार