रौतहटमा शुक्रबार (हिजो) दिउँसो घाँस काट्न खेतमा गएकी १६ वर्षीया किशाेरीको बलात्कारपछि हत्या भएको छ ।
वृन्दावन नगरपालिका- ४ हरैयापल्टुवामा घाँस काट्न गएकी ती किशाेरीको बलात्कारपछि हत्या भएको वडाध्यक्ष श्याम यादवले जानकारी दिए ।
जिल्लाको गढीमाई नगरपालिका घर भएकी उनी हरैयापल्टुवामा रहेकाे मामाघरमा बस्दै आएकी थिइन् । उनको शंकास्पद हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए ।
बिहान १० बजेतिर घाँस काट्न गएकी उनी साँझसम्म नफर्केपछि उनको खोजी गर्दै जाँदा नजिकैको उखुबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दियाे ।
बलात्कारमा संलग्न भएको आशंकामा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गत भदौ १४ मा जिल्लाको गढीमाई नगरपालिका, मुसहरी टोलका स्थानीय सकल बैठाकी श्रीमती मिन्त्रादेवी बैठाको पनि घाँस काट्न जाँदा उखुबारीमै हत्या भएको थियो ।
बिहान घाँस काट्न खेत गएकी मिन्त्रादेवी साँझसम्म घर नफर्केपछि घरपरिवारका सदस्यले खोजतलास गर्दा बेलुकी स्थानीय समिउल्ला कवारीको उखुघारीमा उनको शव फेला परेको थियो । बैठाको लेनदेनका कारण हत्या भएको रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छ ।
गत असोज ९ को राति देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँका स्थानीय महेश तिवारीका दम्पतीमाथि आक्रमण हुँदा महेशकी श्रीमती जगरामी देवीको मृत्यु भएको थियो ।
देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखियासहित चारजना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए । प्रजित र सोनालाल दाजुभाइ हुन् ।
यस्तै असोज १४ मा प्रहरी हिरासतमा एकजना महिलाको मृत्यु भएको थियो । जिल्लाको गुजरा नगरपालिका- २ कटानी बजारकी राधिका राउत बिहीबार बिहान इलाका प्रहरी कार्यालको महिला सेलको हिरासतमा मृत अवस्थामा भेटिएकी थिइन् ।
एक युवकसँग अनैतिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान् सुमन राउतले वडाध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर स्वास्थ्य जाँच गराएको थियो । जिल्लामा महिला हत्याको एकपछि अर्को घटना बढ्दै जाँदा स्थानीयस्तरमा त्रास बढेको छ ।