मेयरको चुनावी प्रतिबद्धता गिज्याउँदै छन् पोखरा महानगरका सडकले

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण

पोखरा महानगरका मेयर मानबहादुर जिसीले निर्वाचनमा गरेको एउटा महत्वपूर्ण प्रतिबद्धता थियो, नगरका सडकमा बनेका खाल्डाखुल्डी २४ घन्टाभित्रै पुरिसक्ने । तर, निर्वाचित भएको तीन वर्ष बित्दै गर्दा महानगरका सडक खण्डहरझैँ बनेका छन् । नगरक्षेत्रका सडकले मेयर जिसीको प्रतिबद्धतालाई गिज्याइरहेका छन् ।

महानगरका सडक अहिले नगरवासीका लागि मेयर जिसीलाई खिसिट्युरी गर्ने माध्यम बनेका छन् । सडकमा बनेका खाल्डातर्फ औँल्याउँदै नगरवासीले भन्ने गर्छन्– मेयरका सडक ।

सवारीसाधन गुड्दा खाल्डामा जमेको पानीले बटुवा भिज्ने अवस्था रहनु महानगरपालिकाकै लज्जाको विषय रहेको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला टिप्पणी गर्छन् । सडक नियमित मर्मतसम्भार हुनुपर्नेमा त्यस्तो नदेखिएको उनी बताउँछन् ।

महानगरपालिका कार्यालय अघिल्तिरको सडकमा बनेको खाल्डो जमेको पानीमा महानगरको प्रतिविम्ब देखिन्छ । तिनै खाल्डा पनि पुर्न सकेको छैन, पालिकाले । खाल्डाखुल्डीका विषयमा राखिएको जिज्ञासमा मेयर जिसी भन्छन्, ‘कोरोना संक्रमण नभएकोे भए पोखराका सडक चिल्ला भइसकेका हुन्थे र गुनासो गर्ने अवस्था नै आउने थिएन ।’

पोखरा महानगरपालिकाको मुख्य गेट अघिल्तिर बनेको खाल्डो, जहाँ जमेको पानीमा महानगरको बोर्ड छर्लंग देखिन्छ ।

महानगरपालिकाले सहरी सडकलाई अस्फाल्ट कंक्रिटिङ गर्न सम्झौता नै गरिसकेको र कोरोना संक्रमणका कारण मजदुर नपाउँदा समस्या आएको उनको भनाइ छ । ‘सुरुमा भएका कामदार फर्काइयो । भारतबाट मजदुर ल्याउनुपर्ने रहेछ । यस्तो वेला गुनासो सुन्नेबाहेक केही गर्न सक्ने अवस्था नै रहेन,’ उनी भन्छन् । सडकबाहेकका काम भने महामारीमै पनि निरन्तर गर्न सकिएको, तर कालोपत्रे गर्ने जनशक्ति नहुँदा समस्या परेको उनको प्रस्टीकरण छ ।

जताततै खाल्डैखाल्डा
पोखरा न्युरोडमा बीचसडकमै पानको पात आकारको खाल्डो बनेको छ । सभागृह चोकमा सदाबहार खाल्डो परिरहन्छ । त्यसमाथि अहिले खानेपानी पाइप लाइन बिछ्याउन सडक किनारामा खनिएको छ । तर, पाइप लाइन बिछ्याएर पनि कंक्रिट गरिएको छैन ।

सभागृह चोकमा पाइप लाइन बिछ्याएर पनि कंक्रिट नगरी अलपत्र छाडिएको सडक ।

महेन्द्रपुल चोकमै खाल्डो बनेको छ । यस्तै, रानीपौवा हुँदै पश्चिमाञ्चल अस्पताल चोक जोड्ने सडकमा बनेका खाल्डाका कारण स्थानीय बासिन्दाले सास्ती खेपिरहेका छन् ।

महेन्द्रपुलदेखि पृथ्वीचोकसम्म नयाँ बजार क्षेत्रमा ठाउँ–ठाउँमा खाल्डा परेका छन् । महानगरभित्र खाल्डा नपरेका सडक भेट्न मुस्किल छ । जिरो किलोमिटरदेखि विन्ध्यवासिनी सडकखण्ड मात्र अस्फाल्ट कंक्रिट गरिएकाले खाल्डाको समस्या छैन । यो पोखरा–बाग्लुङ राजमार्गको एक खण्ड हो ।

ठेक्का भयो तर, काम हुन पाएन
विन्ध्यवासिनी सडकखण्डमा जस्तै अस्फाल्ट कंक्रिट गर्ने महानगरको योजना छ । त्यसका लागि मुख्य सहरी सडकको स्तरोन्नति गर्न पोखरा महानगर, पूर्वाधार विकास कार्यालय, कास्की र सडक विभागको सहकार्यमा कागजी प्रक्रिया पूरा भएर काम सुरु हुने चरणमा थियो ।

त्यसका लागि महानगरले १७ करोड रुपैयाँ छुट्याएको छ । उक्त बजेटबाट १२ किलोमिटर सडक निर्माण गर्न ‘इलाइट मोतीधन जेभी’सँग सम्झौता पनि भएकोे छ । न्युरोडबाट महेन्द्रपुल हुँदै सिद्धार्थचोक, महेन्द्रपुलबाट रानीपौवा हुँदै अम्मरसिंह चोक, महेन्द्रपुलदेखि पालिखेचोक हुँदै केआई सिंह पुल र सुन्दर फिडसम्मको सडक अस्फाल्ट कंक्रिटिङ गर्न महानगरले फागुनमा सम्झौता गरेकोे थियो ।

महानगरका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेका अनुसार सुरुमा जाइकाअन्तर्गतको बृहत् खानेपानी आयोजना विस्तार हुँदै गरेकाले पुनः सडक खन्नुपर्ने भन्दै केही ढिलाइ भयो । त्यसपछि ११ चैतमा लकडाउन सुरु भएपछि सबै काम रोकियो । अवस्था सहज भएर तराईबाट कामदार नआउँदासम्म सडक निर्माण अगाडि बढ्ने अवस्था नदेखिएकोे काफ्लेको भनाइ छ ।

पूर्वाधार विकास कार्यालय, कास्कीका प्रमुख दिनेशकुमार घिमिरेका अनुसार मुस्ताङचोकदेखि राष्ट्र बैंक चोक, सहिद चोक हुँदै लेकसाइड हल्लन चोकसम्म र हल्लन चोकबाट जिरो किलोमिटरसम्म पाँच दशमलव ६ किलोमिटर सडकलाई अस्फाल्ट कंक्रिटिङ गर्न नौ करोड रुपैयाँमा सम्झौता भएको छ । सम्झौताको म्याद सकिएर ६ महिना थपिएको छ ।

सम्झौता भएर काम सुरु गर्ने वेलामा जाइकाको परियोजनाअन्तर्गत पाइप बिछ्याउन सडक खन्न थालिएको घिमिरे बताउँछन् । ‘पाइप लाइन बिछ्याएलगत्तै काम थाल्ने योजना थियो । तर, लगत्तै लकडाउन सुरु भएपछि निर्माण कम्पनीले कामदार अभाव देखाउँदै काम थाल्न सकेन,’ उनी भन्छन् ।

ठेकेदार कम्पनी भन्छ– भारतबाट कामदार ल्याउन पाए भटाभट काम
महानगरका सडकलाई अस्फाल्ट कंक्रिट गर्न जिम्मा लिएको इलाइट मोतीधन जेभीले कामदार ल्याउन पाए काम भटाभट अगाडि बढाइने बताउने गरेको छ । त्यसका लागि लकडाउनअघि नै उपकरण र सामग्री ल्याइसकिएको कम्पनीका कन्ट्रयाक म्यानेजर राजु रानाभाट बताउँछन् ।

‘लकडाउनपछि भएका कामदार पनि घर फर्काइयो, अहिले ल्याउन समस्या भयो,’ रानाभाट भन्छन्, ‘कामदार आउन तयार छन्, तर जोखिम मोल्न सकिएको छैन ।’

भारतबाट कामदार ल्याउन नदिइएको उनको गुनासो छ । ‘काम भएन, खाल्डा धेरै भए भनेर मात्र भएन । किन भएन भनेर पनि खोजिदिनुप¥यो,’ उनी भन्छन्, ‘भारतबाट कामदार ल्याउन उनीहरूलाई तयारी अवस्थामा राखिएको छ । पिसिआर परीक्षण गरेर ल्याउने कुरा पनि भएको छ । तर, जोखिम मोल्ने कि नमोल्ने भन्ने अन्योल छ ।’

सुझावित समाचार