प्राधिकरणका कर्मचारी नै चोरीमा संलग्न

मंगलबार, १३ असोज, २०७७
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारी चोरी तस्करी र गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएको छ । विद्युत् प्राधिकरण कैलाली कञ्चनपुरमा ज्यालादारीमा कार्यरत कर्मचारी  तस्करी र गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएको हो । विद्युत् प्राधिकरण धनगढी कैलालीमा कार्यरत प्राविधिकद्वय प्रदीप राना र बेलौरी कञ्चनपुर वितरण केन्द्रमा कार्यरत धनबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । 

सोमबार पुनर्वास नगरपालिका– ३ आइबिआरडी क्षेत्रबाट विद्युतका अवैध सामान तस्करी गरिरहेको अवस्थामा पक्राउ परेका धनबहादुर चन्द र आइतबार लालझाडी गाउँपालिका– ४ पर्सियाबाट अवैध काठसहित पक्राउ परेका प्रवेश राना विद्युत् प्राधिकरणमा प्राविधिकका रूपमा कार्यरत कर्मचारी भएको  प्रहरीले जनाएको छ ।

 सः मिलका सञ्चालक रानालाई अवैध काठसहित र चन्दलाई विद्युतका सामान तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता थापाले बताए । ‘सः मिलमा अवैध काठ थियो,’ उनले भने, ‘हामीले काठसहित मानिस पक्राउ गरेर ल्यायौँ । ६० क्युफिट अवैध काठ बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएका थियौँ ।’ मिल सञ्चालक राना नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र धनगढीमा कार्यरत रहेको प्रवक्ता थापाले बताए । 

यस्तै भारतबाट चोरी तस्करी गरी अवैध रूपमा विद्युतीय सामग्री नेपाल भित्र्याइरहेको अवस्थामा पक्राउ परेका चन्द नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बेलौरीमा कार्यरत कर्मचारी भएको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालयको टोलीले चन्दलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा बिजुलीका सामान तस्करी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।  चन्दको साथबाट ७० हजारबराबरको मोटरसाइकलसहित सामान बरामद गरी त्रिनगर भन्सार कार्यालय कैलाली बुझाइएको छ ।  ‘अवैध रूपमा विद्युतीय समान तस्करी गर्ने पनि विद्युतकै कर्मचारी रहेछन्,’ प्रवक्ता थापाले भने, ‘काठ र विद्युतीय सामानमा गैरकानुनी काम गर्ने दुवै कर्मचारी ज्यालादारीमा कार्यरत रहेछन् ।’ दुवैलाई कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार