प्राध्यापकको गिलास

मंगलबार, १३ असोज, २०७७
डिजिटल संस्करण

मनोविज्ञानका एक प्राध्यापक एक दिन आफ्नो कक्षामा पानी भरिएको गिलास लिएर पुगे । गिलास उठाउँदै उनले विद्यार्थीलाई सोधे, ‘यो गिलासको तौल कति होला ? तपाईंहरू अनुमान गर्न सक्नुहुन्छ ?’ ‘५० ग्राम’, ‘१०० ग्राम’ , ‘१२५ ग्राम’ ... जस्ता जवाफ आए । प्रध्यापकले विद्यार्थीले दिएका कुनै उत्तरलाई सही नबताई अगाडि भने, ‘तपाईंहरूले भन्नु भनेजस्तै गिलास खासै गह्रँगो छैन । त्यसैले यसलाई म केही समय सहजै यसरी उठाएर बस्न सक्छु । तर, दिनभर यो गिलासलाई यसरी नै उठाएर बसेँ भने के होला ?’ 

‘धेरै अप्ठ्यारो हुन्छ । तपाईंको हात धेरै गल्नेछ । सायद सुन्निन पनि सक्छ । पीडा असह्य भएर तपाईंले उपचार गराउनुपर्ने पनि हुन सक्छ । त्यसैले गिलासलाई काम सकिएपछि भुइँमा राखेको राम्रो,’ एक छात्रले भने । अरू विद्यार्थीले उसको कुरामा सहमति जनाए । 

प्राध्यापकले ती छात्रको भनाइमा सहमति जनाउँदै भने, ‘ठीक भन्नुभयो । दिनभर गिलास उठाउँदा पनि गिलासको वजन बढेको हुँदैन, तर पनि उठाउनेको हातलाई पीडा हुन्छ । जीवनका समस्याबाट उत्पन्न हुने निराशाजनक सोच पनि यस्तै हुन्छ ।

नकारात्मक सोचलाई दिमागमा लामो समय रहन दिने हो भने पीडा उत्पन्न हुन थाल्छ । जीवनमा समस्या आउँछन्, जान्छन् । तिनबारे सोचेर बस्ने हो भने दिमागलाई भार बढ्छ । दिमागले अन्य कुरा सोच्न सक्दैन । त्यसैलाई गिलासको काम सकिएपछि बोक्न छाडिदिएजस्तै हामीले पनि दिमागलाई समाएर बस्न हुँदैन ।’
 

सुझावित समाचार