डडेल्धुरामा एकजना कोरोना संक्रमितको निधन भएको छ। नवदुर्गा गाउँपालिकानिवासी एक पुरुषको उपचारका क्रममा निधन भएको डडेल्धुरा अस्पतालले जनाएकाे छ।
केही दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका थिए । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको उनको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड– १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। डडेल्धुरामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने जानकारी दिए । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।