वैशाखयता प्राकृतिक प्रकोपबाट तीन सय ७४ काे ज्यान गयाे, अझै एक सय एक बेपत्ता

शुक्रबार, २ असोज, २०७७
डिजिटल संस्करण

वैशाखयता प्राकृतिक प्रकोपमा परी तीन सय ७४ जनाको मृत्यु भएको छ । चार सय २० जना घाइते भएका छन् भने एक सय एक बेपत्ता भएका छन् । 

गृहमन्त्री रामबहादुर थापाले वैशाखयता प्राकृतिक प्रकोपबाट प्रभावित हुनेहरूको तथ्यांक दिएका हुन् । 

‘राज्य व्यवस्था तथा सुशासन समिति’को शुक्रबार बसेको बैठकमा उनले यस्तो जानकारी दिएका हुन् । 

उनले भने, ‘यस वर्षको मनसुनले जनधनमा ठूलै क्षति पुऱ्याएको छ, यस वर्ष प्रि–मनसुन वैशाख महिनादेखि नै सुरु भयो । यस वर्ष पहिरोबाट मृत्यु हुनेहरूको संख्या दुई सय ७१ पुगेको छ । ६५ जना बेपत्ता भएका छन् । घाइतेहरू दुई सय ६ जना पुगेका छन् । बाढीबाट अहिलेसम्म यस वर्ष विगत वर्षको तुलनामा कम क्षति भएको छ । जसमा ३९ जनाको निधन भएको छ । र, बाढीबाट ३६ जना बेपत्ता भएका छन् । र, घाइतेहरू ११ जना छन् ।’

उनले थपे, ‘चट्याङबाट पनि निकै क्षति भएको छ, यस वर्ष । ६४ जनाको मृत्यु भएको छ । र, घाइतेहरू दुई सय तीनजना भएका छन् । र, कुल यसमा मृत्यु हुनेहरू तीन सय ७४ अहिलेसम्ममा । डाटा अलिकति अपडेट गर्नुपर्ने पनि छ । तर, अहिलेसम्म प्राप्त तथ्यांकअनुसार तीन सय ७४ जना छ  यो निकै ठूलो संख्या हो । र, बेपत्ताहरू एक सय एकजना भएका छन् । र, घाइते चार सय २० जना भएका छन् ।’

यस वर्ष मनसुनबाट प्रभावित जिल्लाहरू ४९ पुगेको थापाले जानकारी दिएका छन् । 

पूर्ण रूपमा क्षति भएका घरहरूको संख्या चार सय ८२ रहेको उनको भनाइ छ । 

‘तत्काल राहत पनि हामीले उपलब्ध गराएका छौँ । नगदको रूपमा पाँच करोड ६९ लाख रुपैयाँ उपलब्ध गराएका छौँ,’ उनले भने ।

सुझावित समाचार