प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक निकायमा पदपूर्ति हुन नसकेको कांग्रेसकाे भनाइ

बुधबार, ३१ भदौ, २०७७
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक निकायमा पदपूर्ति हुन नसकेको आरोप लगाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकताका साथ गर्नुपर्ने कामहरूलाई आफ्नो प्राथमिकतामा नराखेर र तत्काल गर्न नपर्ने कामहरूमा क्रियाशीलता बढाएको आरोप कांग्रेसको छ । 

लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदहरू पूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएकाले यसको अपजस प्रतिपक्षीलाई दिन नहुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

राम्रा कामहरूको जस सरकारले लिन खोज्नु स्वाभाविक भए पनि काममा ढिलासुस्ती, गर्न नसकेका–नगरेका कामहरूमा प्रतिपक्षीलाई दोषी देखाउने प्रवृत्ति प्रधानमन्त्री ओलीमा रहेको उनको ठहर छ । 

१३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त रहेका छन् । 

प्रतिपक्षी दलले बार्गेनिङ गरिरहेका कारण पदपूर्तिमा ढिलाइ भइरहेको भनी गलत प्रचार गरेर दोषी देखाउन खोजेको प्रवक्ता आरोपले बताए । 

उनले भने, ‘प्रदेशहरूको नामकरण हुन सकेको छैन । नेकपाकै सरकार छ, खै त अहिलेसम्म नामकरण भएको ? धेरै विश्वविद्यालयमा नेतृत्व खाली छ । धेरै संवैधानिक निकायको पद खाली छ । त्यो निर्णय गर्ने संवैधानिक परिषदमा फरक–फरक क्षेत्रको प्रतिनिधित्व भए पनि सत्तारुढ दलनिकटकाहरूको नै बहुमत छ । त्यसैले प्रतिपक्षीका कारण यो निर्णय भएन भन्ने दोष लगाउने कुरा गलत हो ।’

अहिलेसम्म पनि मधेसी, दलित र आदिवासी जनजाति आयोगले अध्यक्ष पाएका छैनन् । यी आयोगमा अध्यक्षसहित चारजना अन्य पदाधिकारी रहने व्यवस्था रहेको छ । 

प्रवक्ता शर्माले कुनै पनि नियुक्ति गर्दा हामीलाई यो पद दिनुपर्छ भनेर बिन्ती नचढाएको दाबी गरे । 

संवैधानिक परिषद्को व्यवस्थाअनुसार राज्यका महत्वपूर्ण अंगहरूमा नेतृत्व चयन गर्दा सबैको साझा स्वामित्व हुनुपर्छ भन्ने धारणा कांग्रेसकाे भए पनि आफूहरूले पदका लागि कुनै बार्गेनिङ नगरेको उनले बताए । 

व्यक्तिको योग्यता, क्षमता र मर्यादा कस्तो हुनुपर्छ भन्ने कुरामा कांग्रेसले प्रस्ट धारणा राख्ने भए पनि यो पद दिनैपर्छ नभए निर्णय गर्न दिँदैनौ भनेर आफूहरूले नभनेको उनले बताए । 

विभिन्न आयोगहरूमा नियुक्त भएका पदाधिकारीहरूले समेत राजीनामा दिएर गएको अवस्था छ । कतिपय आयोगहरूमा कार्यकाल सकिएर पद खाली छ । 

समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएपछि कोही पनि नियुक्त भएका छैनन् । 

प्राकृतिक वित्त आयोगमा बालानन्द पौडेल अध्यक्ष नियुक्त भए पनि चार सदस्य रिक्त रहेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त छैनन् । त्यहाँ प्रमुख आयुक्त पद पनि खाली छ । आइतबार नवीन घिमिरेको कार्यकाल सकिएपछि पद खाली रहेको हो । 

आयुक्त राजनारायण पाठक घुस काण्डमा मुछिएपछि राजीनामा दिएका थियो । निर्वाचन आयोगमा इला शर्मा र सुधीर शाहको कार्यकाल सकिएपछि कोही पनि नियुक्त भएका छैनन् । 

सुझावित समाचार