चुरे भएर दक्षिण तराईतिर झरेका तीन नदी स्याली, वनहरा र मछेली कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ डाँगाजाईमा एकैठाउँमा मिसिन्छ ।
त्यही बिन्दुबाट दक्षिण बग्ने नदीलाई दोदा भनिन्छ । दोदा नदीले बर्सेनि कटानी गरिरहेको छ । उर्वरभूमि कटानदेखि नदी नै गाउँमा पसेर मानवबस्ती विस्थापन गराउने गर्छ । नदीको कटान रोक्नेतर्फ कसैको ध्यान छैन ।
हरेक निर्वचनका वेला नेताहरूले नदी नियन्त्रणकाे आश्वासन मात्र दिने गरे पनि चुनावपछि कसैले ध्यान नदिने गरेकाे स्थानीयकाे गुनासाे छ ।
नदीले खेतीयोग्य जमिन बगाउँदा किसानको उठीबास भएको छ ।
कुल ६ वडा रहेको लालझाडी गाउँपालिकाकाे पूरै वडामा छोएर दोदा नदी बग्छ । दोदा नदी नियन्त्रण नहुँदा पूरै गाउँपालिकासहित बेलौरी ५ र पुनर्वास नगरपालिका ५, १० र ९ वडा प्रत्यक्ष प्रभावित भएका छन् ।
यस वर्ष मात्रै दोदाले लालझाडी गाउँपालिका क्षेत्रका किसानको जमिन फेरि कटानी सुरु गरेको छ । लालझाडी गाउँपालिका– ३ नन्दगाउँका भज्जी रानाको यस वर्ष मात्रै पाँच कट्टा जमिन नदीले कटानी गरेर लगेको छ ।
‘जस्तो नदी बग्छ, त्यस्तै हिसाबको मेरो जमिन छ, ‘नदीले तलदेखि माथिसम्म कटान गरेको छ, ‘उनले भने, ‘करिब पाँच कट्टा जमिन यस वर्ष पनि नदीले काटेर लग्यो ।’
लालझाडी गाउँपालिका– २ कञ्जका स्थानीय धनसिंह रानाले आफ्नो १० कट्टा उर्वर खेती बगाएकाे बताए ।
उनले जमिन बर्सेनि कटान हुँदासमेत सरकारी निकायबाट रोकथामका लागि कुनै पहल नभएको दुखेसो पोखे । ‘खेतीबाट घरबार चलाउँथेँ,’ उनले भने, ‘यसरी बर्सेनि जमिन नदीले काट्दै छ, अब कसरी घरबार चलाउने ?’
दोदा नदीले मात्रै नभई गाउँकै खरा नालाले लालसिंह रानाको ६ कट्ठा जमिन काटेको छ ।
‘एकातिर दोदाको कटानी छ, अर्कातिर खरा नालाले हाम्रो जमिन काटिरहेको छ,’ उनले भने, ‘रोक्नका लागि कुनै पहल भएन ।’
दोदा नदीका कारण जमिन मात्रै नभई मानवबस्तीसमेत विस्थापित भएका छन् ।
लालझाडीका स्थानीय युवा अगुवा अमरसिंह रानाले दोदा नदीको कटान, बाढी आउने हरेक वर्ष समस्या भएको बताए ।
‘०६५ सालतिर दोदामा आएको बाढीबाट विस्थापित अझै पनि जंगलमै बस्न बाध्य भएका छन,’ उनले भने, ‘एकातिर कटान र अर्कातिर विस्थापनको समस्या छ ।’
जिल्लाकै दुर्गम गाउँको रूपमा परिचित लालझाडीका गाउँबस्तीमा खेतीयोग्य जमिन छ । नगदेबालीदेखि अन्य बालीनालीको राम्रो उत्पादन भए पनि नदी कटानले खेतीयोग्य भूमि नै तहसनहस हुने खतरा रहेको उनले बताए ।
लालझाडी गाउँपालिका प्रमुख मदनसेन बडायकले मुख्य समस्या दोदाको कटानी भएको बताए ।
‘यस वर्ष ३० बिघा जमिन कटान गरेको छ,’ उनले भने, ‘०६५ सालमा तीन सय बिघा थियो, त्योयता क्रमिक वार्षिक रूपमा ४० देखि ५० बिघा काट्दै आएको छ ।’
१२ वर्षको अवधिमा एक हजार बिघा जमिन कटान गरेको गाउँपालिका प्रमुख बडायकले बताए ।
‘झन्डै १२ वर्षको अवधिमा गाउँपालिकाका ६ वटै वडाको हजार बिघा खेतीयोग्य जमिन नदीमा परिणत भएकाे छ,’ उनले भने ।
तटबन्धका लागि गाउँपालिकासँग बजेट नहुँदा समस्या भएकाे बताउँदै उनले बारम्बार प्रदेश र संघीय सरकारसँग अनुरोध गर्दा पनि सुनुवाइ नभएकाे दुखेसो पोखे ।
‘हामीसँग भएको स्रोत साधनले नदी नियन्त्रण हुँदैन,’ उनले भने, ‘माथिल्ला सरकार दिँदैनन्, बर्सेनि उर्वरभूमि कटान भइरहेकाे छ ।’
जनताको तटबन्ध कार्यालय महेन्द्रनगरका सूचना अधिकारी रामभक्त शर्माले बजेट अभावकै कारण एकैपटक ठूलो परिमाणमा दोदामा तटबन्ध निर्माण गर्न नसकिएको बताए ।
‘हरेक वर्ष बजेट थोरथोरै पाइन्छ,’ उनले भने, ‘चार नदीमा वितरण गरेर काम गर्दा कमकमै भाग पर्छ ।’
गत आर्थिक वर्ष ०७६/७७मा बेलौरी नगरपालिका– ५ भकुण्डा क्षेत्रमा तीन सय मिटर तटबन्ध निर्माण गरिएको उनले बताए ।
कञ्चनपुरको महाकाली, दोदा र कैलालीको खुटिया र मोहना नदी नियन्त्रणको जिम्मा पाएको कार्यालयले यस वर्ष १५ करोड बजेट पाएको छ ।
बजेट अभावकै कारण नदी नियन्त्रणमा समस्या भइरहेको अर्यालयले जानकारी दिए ।
‘बढी बजेट दिए त्यहीअनुसार काम गर्न सकिन्छ,’ शर्माले भने, ‘बजेटअनुसारकाे काम गर्दा कटान रोक्न सकिँदैन ।’