प्रथम राष्ट्रिय भर्चुअल सेल्फ डिफेन्स हाप्किडोमा नुवाकोट च्याम्पियन

शनिबार, २० भदौ, २०७७
डिजिटल संस्करण

नेपाल मार्सल आर्टस् हाप्किडो संघको व्यवस्थापन तथा नुवाकोट जिल्ला मार्सल आर्टस् हाप्किडो संघको आयोजनामा भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ डिफेन्स हाप्किडो च्याम्पियनसिपमा आयोजक टोली च्याम्पियन भएको छ । शनिबार सम्पन्न भएको प्रतिस्पर्धामा नुवाकोटका चार खेलाडीले स्वर्ण जिते । समीर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङले आयोजक नुवाकोटलाई च्याम्पियन बनाएका हुन् । दाङको टोली दोस्रो तथा कास्की तेस्रो भयो । दाङका चेतन वली र गोपाल बिके, कास्कीका कृतिका गिरी र अन्जना परियारले कांस्य जितेका थिए । 

प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीले जनही दश हजार प्राप्त गरेको आयोजकका अध्यक्ष मनोज गुरुङले जानकारी दिए । यस्तै, रजत जित्ने खेलाडीले सात हजार पाँच सय र कास्य पदक जित्ने खेलाडीले पाँच हजार प्राप्त गरेको उनले जानकारी दिए । सहभागी सबै खेलाडीहरूले प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए ।

प्रतियोगितामा विभिन्न ३० जिल्लाका क्लब, स्कुल, डोजाङबाट ८० टोलीले सहभागिता जनाएका थिए । खेलाडीहरूले पठाएको भिडियोमार्फत नेपाल मार्सल आर्टस् हाप्किडो संघका प्रमुख प्रशिक्षक सुस्मिता गुरुङ, सहायक प्रमुख प्रशिक्षकहरू भुवन बुढामगर र प्रवीण गुरुङले निर्णय दिएका थिए । 

प्रतियोगिताको पुरस्कारका लागि हेल्थ एन्ड एजुकेसन नेपालका अध्यक्ष जगतबहादुर लामाले प्रायोजक गरेका हुन् ।
 

सुझावित समाचार