- एनपिएलका अघिल्ला दुवै सिजनमा फाइनलमा पराजित सुदूरपश्चिम रोयल्सको तेस्रो प्रयासमा साबिक विजेता लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित
काठमाडाैं- एनपिएलका अघिल्ला दुवै सिजनमा फाइनलमा पराजित सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा सानदार जित निकालेको छ । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित सुदूरपश्चिमले यसपटक साबिक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै एनपिएल ट्रफी उचालेको हो ।
टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रनको लक्ष्य दिएकोमा सुदूरपश्चिमले पहिलो ओभरदेखि नै दबदबा बनायो । ओपनर स्कटल्यान्डका जर्ज मुन्सेले छक्का र चौकाको वर्षा गरे । ५४ बलमा अविजित १२५ रन जोडेका उनले १२ छक्का र आठ चौका प्रहार गरेका थिए । १३.३ ओभरमा १५८ रन जुटाउँदै लक्ष्य पूरा गरेको सुदूरपश्चिमका लागि विनोद भण्डारीले ३० बनाए । अतिरिक्तबाट ३ रन प्राप्त भएको थियो । विगतका दुई सिजनमा लगातार उपाधि गुमाएको सुदूरपश्चिमलाई जित दिलाएका मुन्सेले एनपिएलमा व्यक्तिगत सर्वाधिक रन बनाउने कीर्तिमानसमेत राखे । त्यस्तै, एनपिएलमा शतक बनाउने छैटौँ खेलाडी पनि बने ।
सुरुदेखि नै दीपेन्द्रसिंह ऐरीकै कप्तानीमा रहेको सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पाँच विकेट र दोस्रो संस्करणमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो ।
सुदूरपश्चिमलाई पहिलो क्वालिफायरमा ६ विकेटले हराउँदै लुम्बिनी सिधै फाइनलमा पुगेको थियो । लुम्बिनी समूह चरणमा सातमध्ये पाँच खेल जित्दै ११ अंकसहित शीर्ष स्थानमा थियो । उसले एक खेल गुमायो भने एक खेल वर्षाका कारण हुन नसकेपछि अंक बाँडिएको थियो । यता पहिलो क्वालिफायरमा चुकेको सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै उपाधिनजिक पुगेको हो । उसले समूह चरणका सातमध्ये पाँच खेल जित्दै १० अंकसहित दोस्रो स्थान पक्का गरेको थियो ।
एक महिना चलेको एनपिएलमा आठ टिम सहभागी थिए । प्लेअफमा लुम्बिनी र सुदूरपश्चिमसँगै काठमाडौं गोर्खाज र चितवन राइनोज पुगेका थिए । विराटनगर किंग्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने समूह चरणबाटै बाहिरिएका थिए ।
छक्का र चौकाको वर्षा गर्दै मुन्सेको शतकीय इनिङ्स
सुदूरपश्चिमका लागि ओपनर मुन्सेले छक्का र चौकाको वर्षा गरे । ५४ बलमा अविजित १२५ रन जोडेका उनले १२ छक्का र आठ चौका प्रहार गरेका थिए । मुन्सेले एनपिएलमा व्यक्तिगत सर्वाधिक रन बनाउने कीर्तिमानसमेत बनाए । त्यस्तै, एनपिएलमा शतक बनाउने छैटौँ खेलाडी पनि बने । अहिलेसम्म सबै शतक विदेशी खेलाडी नै बनाएका छन् । यस सिजनमा चितवनका कमिल मिसारा र पोखराका युवराज साम्राले शतक बनाएका छन् । अहिलेसम्म कर्णालीका मार्क वाट (अविजित ११४), पोखराका एडम रोसिंटन (अविजित १०८), आन्द्रेस गौस (अविजित १०४), युवराजसिंह साम्रा (१०२) र कमिल मिसाराले अविजित ११९ रन बनाएका छन् ।
मुन्सेले अघिल्लो सिजनमा आक्रामक ब्याटिङ गर्दै २८ बलमा पाँच चौका र तीन छक्कासहित अर्धशतक बनाएका थिए । यस सिजनमा तेस्रो खेल खेलेका उनको पहिलो शतक हो । डेब्युमा लुम्बिनीविरुद्ध डकआउट तथा दोस्रो खेलमा चितवनविरुद्ध ८ रन मात्रै जोडेका मुन्सेले सुदूरपश्चिमलाई उपाधि दिलाउन ‘जादु’ चलाए । ११औँ ओभरमा मुन्सेले लुम्बिनीका कप्तान रोहितको बलमा दुई छक्कासहित १८ रन बनाएपछि खेल सुदूरपश्चिमको पक्षमा आइसकेको थियो । ओपनिङ जोडी विनोद भण्डारीसँग मुन्सेले आक्रामक ब्याटिङ गर्दै पावर प्लेमै ६० रन जोडेका थिए ।
लुम्बिनीको ब्याटिङ सोचेजस्तो भएन
पहिलो इनिङ्समा लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाएका थिए । उनले ३१ बलमा तीन छक्का हिर्काएका थिए । दिलीप र अमेरिकी २३ वर्षीय अलराउन्डर अली शेखले पाँचौँ विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए । अलीले १२ बलमा समान दुई चौका र छक्कासहित २४ रन बनाए । यसअघि श्रीलंकन ब्याटर निरोशान डिकवेला र दिलिपले ३४ रनको साझेदारी गरेका थिए ।
कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३० रन बनाए । ३१ बलमा दुई चौका प्रहार गरेका रोहित रन आउट भएका थिए । डिकवेलाले १७ बलमा २८ रन बनाए । १ चौका र २ छक्का हिर्काएका उनलाई श्रीलंकाकै थारिन्दु रत्नायेकेले बोल्ड गरेका हुन् । यसअघि ओपनर डार्सी सर्टले १८ बलमा चार चौकासहित २१ रनको योगदान गरेका थिए ।
अर्का ओपनर आसिफ शेख भने १ रन बनाएर आउट भएका थिए । छैटौं नम्बर क्रिजमा आएका सन्दीप जोरा ४ रनमात्र बनाएर आउट भए ।
सुदूरको लागि स्कट कुगुलेइनले २ तथा हेमन्त धामी, थारिन्दु रात्नायेके र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । अनिल खरेल र इशान पाण्डे विकेटविहीन भएका थिए ।