कास्की/ प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले बन्ने कानुन पछिल्लो समय हुर्किँदै गरेका र जन्मिँदै गरेका पुस्ताले पनि गर्व गर्न लायक बन्नुपर्ने बताएका छन् ।
लायन्स क्लब अफ पोखराले आफ्नो स्थापनाको ५०औँ वर्ष पुगेको अवसरमा आयोजिना गरेको स्वर्ण महोत्सव समारोहलाई शनिबार पोखरामा सम्बोधन गर्दै सभामुख अर्यालले भने, ‘हामीले बनाउने कानुन तपाईं र हामीभन्दा पछिल्लो हुर्किँदै गरेको, जन्मिँदै गरेका पुस्तालाई पनि गर्व गर्न लायक बन्न सकोस्।’
हाल आफू बनाउन बाँकी रहेका कानुन निर्माण गर्ने महत्त्वपूर्ण जिम्मेवारीमा पुगेको भन्दै सभामुख अर्यालले कानुन निर्माणका क्रममा सबैको सहयोग आवश्यक रहेको बताए ।
उनले भने, ‘कानुन निर्माण गर्दै गर्दा म तपाईंहरुको यस्तो सहयोगको अपेक्षा गर्छु कि अब हामीले बनाउने कानुन यो देशको भूगोल सुहाउँदो, तपाईं–हाम्रा अभिभावक र अग्रजहरुलाई सम्मान गर्ने र हामीभन्दा पछिल्लो हुर्किँदै गरेको, जन्मिँदै गरेका पुस्तालाई पनि गर्व गर्न लायक बन्न सकोस् । त्यसका लागि तपाईंहरुको साथ र सहयोगको अपेक्षा गर्दछु ।’
सभामुख अर्यालले हरेक कानुन निर्माणको प्रक्रिया सार्वजनिक हुने भएकाले त्यसबारे सबैले चासो राख्नुपर्ने बताए । उनले भने, ‘हरेक कानुन निर्माण गर्दा सुरुमा सार्वजनिक गरिएको हुन्छ, प्रतिनिधिसभाका दुई सय ७५ र राष्ट्रिय सभाका समेत गरी तीन सय ३४ जना माननीय सदस्यहरुले कानुन निर्माणका विषयमा छलफल गर्नुहुन्छ। त्यसैगरी, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसम्मलाई पनि हामी कुन कानुन निर्माण गर्दै छौँ र कस्ता विधेयक आउँदै छन् भन्ने कुरा सार्वजनिक हुन्छ ।’
उनले विभिन्न क्षेत्रका अगुवाहरुलाई आफूले प्रयोग गर्ने कानुन कस्तो बन्दै छ भन्ने विषयमा जानकारी राख्न आग्रह समेत गरे ‘तपाईंले प्रयोग गर्ने कानुन हामी बनाउँदै छौँ, त्यसकारण सरोकारवालालाई आफूले प्रयोग गर्ने कानुन कस्तो बन्दै छ भन्ने थाहा हुनुपर्छ । मेरो लागि बन्दै गरेको कानुनका बारेमा मलाई चासो हुनुपर्छ । त्यसकारण बढीभन्दा बढी बहस हामीले कानुन निर्माण गर्ने बेलामा गर्न सक्यौँ भने त्यो कानुन राम्रो, बलियो, दूरगामी र लामो समयसम्म प्रयोग गर्न सकिने हुन्छ । त्यसकारण तपाईंहरुले आ–आफ्नो क्षेत्रबाट चासो दिनुहोस् भन्ने म यही मञ्चबाट हार्दिक अपिल गर्छु,’ उनले भने।
अर्को प्रसंगमा अर्यालले निजी क्षेत्रलाई बलियो बनाउन नसकेसम्म देश समृद्ध हुन नसक्ने बताए । देशलाई समृद्ध बनाउनका लागि र भ्रष्टाचार सधैँका लागि अन्त्य गर्न आवश्क रहेको र आफू त्यही अभियानमा लागेको भन्दै भ्रष्टाचार अन्त्यका लागि एउटा ठूलो सोचसहित अभियानमा जुटेको बताएका थिए ।
अर्को प्रसंगमा सभामुख अर्यालले आफू पछिल्लो समयमा मात्रै राजनीतिमा प्रवेश गरेको नेपाली नागरिक भएको बताउदै भने, ‘म यस्तो नेपाली नागरिक हुँ, जसले आफ्नो लामो जीवनसम्म राजनीतिलाई त्यति धेरै चासो दिएको थिएन । तर राजनीतिमा प्रवेश गरेर काम गर्दै गर्दा म जुन क्षेत्रमा छु, त्यहाँ इमानदारपूर्वक काम गर्नुपर्छ भन्ने मेरो बुझाइ हो ।’
फरक प्रसंगमा लायन्स क्लबमा उपस्थित हुन पाउँदा आफूलाई गर्व लागेको बताउँदै उनले क्लबको सदस्य जीवनभर रहने प्रतिबद्धता व्यक्त गरे । ‘यहाँ विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलमा आस्था राख्नुहुने व्यक्तित्वहरु र विभिन्न जिम्मेवारीमा रहनुहुने व्यक्तित्वहरु हुनुहुन्छ। शिक्षा, स्वास्थ्य, व्यावसायिक, पर्यटन, कृषि हरेक क्षेत्रमा आबद्ध व्यक्तिहरु, जनप्रतिनिधि, सुरक्षाकर्मी, न्यायालयमा काम गर्ने साथीहरु र पूर्वकर्मचारी सबै अटाउन सक्ने तथा सबैलाई समान रुपमा हेरिने महत्त्वपूर्ण संस्था लायन्स हो । यसको सदस्य हुन पाउँदा साँच्चै नै मलाई गर्व लागिरहेको छ र म मेरो जीवन रहेसम्म सदस्य रहने प्रण पनि गर्दछु,’ उनले भने ।
कार्यक्रममा क्लबका संस्थापक सदस्य, पूर्वअध्यक्ष तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका अग्रजहरुलाई सम्मान गरिएको थियो । साथै, क्लबको पाँच दशक लामो सामाजिक सेवायात्रा, गतिविधि र उपलब्धि समेटिएको स्वर्ण महोत्सव स्मारिका विमोचन गरिएको थियो ।
सन् १९७६ अर्थात् विसं २०३३ सालमा स्थापित लायन्स क्लब अफ पोखरा नेपालकै छैटौँ तथा तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो लायन्स क्लब हो । क्लबले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, रक्तदान, वातावरण संरक्षण, छात्रवृत्ति तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सामाजिक सेवा गर्दै आएको क्लबका अध्यक्ष डा. माधव तिवारीले जानकारी दिए । स्वर्ण महोत्सव विगतका योगदानको स्मरण गर्नुका साथै आगामी पुस्तालाई सामाजिक सेवाप्रति प्रेरित गर्ने महत्त्वपूर्ण अवसर भएको तिवारीले बताए।