कर्णाली प्रदेश सरकारले सर्केगाड गाउँपालिका– ७ स्थित ठूलागाउँ बाहुनबाडाका अग्निपीडितलाई राहत वितरण गरेको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले रोडीकोटमै पुगेर शनिबार राहत प्रदान गरेका हुन् ।
मन्त्री रावलले २० थान त्रिपाल, एक सय थान कम्बल, ८० वटा म्याट, २५ थान हाइजिन किट, २५ वटा प्लाष्टिकको बाल्टिन, २५ थान जग, सात सेट भान्साका भाँडा, एक क्विन्टल दाल, ५० केजी नुन, ४६ जोर लगाउने लुगा, ४० पोका तेल र ४० बोरा चामल हस्तान्तरण गरेका छन् ।
गत बुधबार साँझ भएको आगलागीबाट यहाँका ६ घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए भने सात घरमा आंशिक क्षति पुगेको थियो । सर्केगाड गाउँपालिका– ७ को रोडीकोटको बाहुनबाडामा आगलागी हुँदा ५९ लाख ५५ हजारबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।