रेसुंगामा वन्यजन्तु चोरी–सिकार बढ्दो, प्रहरी चौकी राख्न माग

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

पर्यटकीय एवं धार्मिक तपोभूमि रेसुंगामा भइरहेको वन्यजन्तुको चोरी–सिकार रोक्न रेसुंगा संरक्षण समितिले प्रहरी चौकी राख्न माग गरेको छ । खुलेआम वन्यजन्तु सिकार गर्ने र जंगलको रूख काट्न थालेपछि संरक्षणका लागि प्रहरी चौकी माग गरिएको हो । 

रेसुंगा संरक्षण समिति गुल्मीका अध्यक्ष सुरेश भुसालले रेसुंगाका वमान पटक–पटक बन्दुक पड्काएर वन्यजन्तु सिकार भइरहेको बताए । साथै स्थानीयले खुलेआम रूख काट्ने, घाँसदाउरा गर्ने गरेको उनको भनाइ छ । कतिपयले त रातको समयमा रेसुंगाको वनबाट दाउरा ल्याएर तम्घास बजारका बेच्ने गरेको उनले बताए । 

नियामक निकाय मौन
रेसुंगा वन क्षेत्रमा भइरहेको विनाश र वन्यजन्तु सिकारबारे डिभिजन वन कार्यालयसमेत जानकार छ । तर, वन क्षेत्र संरक्षण र चोरी–सिकार रोक्न डिभिजन वनले चासो नदेखाएको समितिको आरोप छ ।

यसकारण पनि वन प्रहरीचौकीको माग गरेको समितिको भनाइ छ । समितिले १७ मंसिर ०७६ मै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत चौकीको माग गर्दै निवेदन दिइएको थियो । यो निवेदनउपर प्रहरी र प्रशासनले कुनै चासो नदेखाएपछि २६ जेठ ०७७ मा जिल्ला समन्वय समिति प्रमुखलाई रेसुंगा संरक्षण समितिले पुनः निवेदन दिएको छ । समितिको निवेदनपछि सर्वपक्षीय बैठकमा रेसुंगाको अवस्थाबारे कुरा उठेको छ ।

तत्काल सुरक्षा समितिको बैठक बसेर चौकी सिफारिस गर्ने निर्णयसमेत भएको थियो । तर, अहिलेसम्म कार्यान्वयन भएको छैन । १५ भदौ ०७७  मा विगतका सबै निवेदन र बैठकका निर्णय लिएर प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई पुनः ध्यानाकर्षण गराइएको गुल्मी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 
 

सुझावित समाचार