सिराहासँग सप्तरी र धनुषा जिल्लाको सीमा जोड्ने कमला र बलान नदीमा बन्दै गरेका ठूला दुईवटा पुल अझै निर्माणाधीन अवस्थामा छन् ।
सिराहा र सप्तरी जिल्लाको सिमानामा रहेको बलान नदीमा ०६८ सालदेखि चार सय ७० मिटर लम्बाइ र ८.९ मिटर चौडाइको पुल निर्माणाधीन अवस्थामा छ । २४ करोड ६२ लाख ८३ हजार रुपैयाँमा बलान नदीको पुल निर्माण गर्न शर्मा पप्पु जेभीले ०६८ फागुन १५ गते सम्झौता गरेको थियो । तर, नाै वर्ष बितिसक्दा पुल निर्माण कार्य पूरा नहुँदा बलानछेउ आसपास सिराहाका भगवानपुर गाउँपालिका र सप्तरीका बलान बिहुल गाउँपालिकाका स्थानीयलाई आवतजावत गर्न जोखिम मोल्नुपर्ने बाध्यता छ ।
यता सिराहा र धनुषाको सीमा जोड्ने कमला नदीमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन पप्पु लुम्बिनी जेभी कन्स्ट्रक्सनलाई ०६८ जेठ ३१ गते ठेक्का दिइएको थियो । २४ करोड ९१ लाख रुपैयाँ लागतमा कमला नदीको पुल निर्माणको ठेक्का दिए पनि अझै पुल निर्माण हुन सकेको छैन ।

पटकपटक म्याद थप गरे पनि पुल निर्माण गर्न ढिलाइ गरेको भन्दै पप्पु कन्स्ट्रक्सनलाई हटाएर ०७६ असोज १ मा लुम्बिनी कन्स्ट्रक्सनलाई जिम्मेवारी सुम्पिएको छ । पप्पु कन्स्ट्रक्सनलाई हटाएर लुम्बिनी कन्स्ट्रक्सनलाई जिम्मेवारी दिए पनि कमलाको पुल कछुवाको गति झै निर्माण भइरहेको कमलाछेउका सिराहा नगरपालिका– ६ बसपिट्टाका नेकपाका युवा नेता दिनेश यादवले बताए ।
सिराहा र सप्तरी जोड्ने बलान पुलको निर्माणमा ढिलाइ गरेको भन्दै पप्पु कन्स्ट्रक्सन हटाएपछि ०७५ चैतदेखि शर्मा एन्ड कम्पनीले काम सुरु गरेको छ । तर, निर्माणको गति सुस्त छ ।
जनकपुरसँग राजविराज जोड्न महत्वपूर्ण मानिएको हुलाकी सडकखण्डअन्तर्गतको कमला र बलान नदीको पुल निर्माण नहुँदा तीनै जिल्लाका स्थानीयलाई नदी ओहोरदोहर गर्न जोखिम मोल्नुपर्ने बाध्यता रहेको हुलाकी सडक संघर्ष समितिका संयोजक मनोज पासवानले बताए ।

पानीको बहाब बढेकाे समयमा पनि जोखिम मोलेर काठको ढुंगाबाट नदी वारपार गर्नुपर्ने बाध्यता रहेको सिराहा नगरपालिका– ६ बसपिट्टाका युवा नेता दिनेश यादवले बताए । कमलाको पश्चिमपट्टि रहेको कमला नगरपालिका– ५ का दुग्ध किसान रामबाबु यादवले सदरमुकाम सिराहा पुग्न ढुंगाको सहारा लिनुपरेको बताए ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले पुल निर्माणलाई तीव्रता दिन अनुगमन निरीक्षणमा पर्याप्त ध्यान नदिँदा ठेकेदारको मनपरी चलेको नेता यादवले बताए । निर्देशनालयका इन्जिनियर जयनाथ यादवले जनशक्ति नआउँदा पुल निर्माण कार्य ठप्प भएको बताए । लकडाउनले गर्दा पुल निर्माण ठप्प भएको भन्दै इन्जिनियर यादवले कमलाको ७० र बलानको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताए ।