प्रवासी नेपालीलाई पढाइ र रोजगारीको चिन्ता

सोमबार, १० चैत, २०७६
डिजिटल संस्करण

विश्वका १८९ देशमा फैलिइसकेको कोरोना भाइरसले अहिले युरोपलाई केन्द्र बनाएको छ । संक्रमण र मानवीय क्षतिका हिसाबले संसारकै सुन्दर देशमा पर्ने इटाली कोरोनाले सबैभन्दा बढी आक्रान्त छ । इटालीसँगै स्पेन, जर्मनी, फ्रान्स, स्विट्जरल्यान्ड, बेलायत, अस्ट्रेलियाजस्ता देशमा संक्रमण फैलिँदो छ । पछिल्लो समय अमेरिकामा समेत संक्रमण र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यी देशमा लाखौँ नेपाली कार्यरत छ । उच्च शिक्षा तथा वैदेशिक रोजगारीका क्रममा पुगेका नेपाली ती देशमा फैलिएको कोरोनाको प्रभावमा छन् । कोरोनाकै कारण धेरैको रोजगारी गुमेको छ । पढाइ बिथोलिएको छ । यी असहजताका बाबजुद परदेशमा रहेका नेपालीलाई आफ्नो मातृभूमि नेपाल र नेपालीको चिन्ता छ । खाडी मुलुकमा रहेका नेपाली भने स्वदेश फर्कन चाहन्छन् । तर, सरकारले बाटो छेकिदिएको गुनासो बोकेर बसेका छन् । नयाँ पत्रिकाकर्मी दीपक अधिकारीसँग उनीहरूले यस्तै भाव व्यक्त गरे । 

...............

आफ्नै कारणले नेपाली कामदार जोेखिममा छन् : रमेश भण्डारी, साउदी अरब, रियाद 

म साउदी अरब बसेको २० वर्ष भयो । हाल पापाजोन पिजा भन्ने रेस्टुरेन्टमा अप्रेसन म्यानेजरका रूपमा कार्यरत छु । यहाँ कोरोना भाइरसको संक्रमणले हामी सबै नेपालीलाई अत्याएको छ । अहिलेसम्म पाँच सय ११ संक्रमित भेटिएका छन् । तर, तिनमा नेपाली छैनन् । तीन–चार दिनदेखि आंशिक लक डाउनको अवस्था छ ।

उद्योग–कलकारखाना, निर्माण कार्य, शिक्षण संस्था बन्द छन् । फार्मेसी, पेट्रोल स्टेसन, ग्रोसरी र रेस्टुरेन्टहरू खुलेका छन् । सार्वजनिक यातायात पनि बन्द छन् । निजी कारहरूमा एकजनालाई मात्र यात्रा गर्न दिइएको छ । संक्रमण बढेकाले लक डाउनको समय बढाउने तयारी बुझिएको छ । र, अझै दुई साता घरमै बस्न भनिएको छ । 

साउदी अरबमा चार लाख नेपाली कार्यरत छन् । उनीहरू सबै जोखिममा छन् । कोरोना संक्रमणको आशंका लागेमा सम्पर्क गर्नू भनेर यहाँ रहेको नेपाली दूतावासले हटलाइन फोन नम्बर उपलब्ध गराएको छ । अहिलेसम्म कुनै नेपालीमा पनि संक्रमण देखिएको छैन । एउटै कोठामा ५–६ जना नेपाली बस्ने गरेका छन् । त्यसकारण संक्रमणको जोखिम छ ।

जोखिम न्यूनीकरणका लागि यहाँको सरकारले ग्लोब्स, मास्क बाटोबाटोमै राखेर निःशुल्क उपलब्ध गराइरहेको छ । तर, कतिपय नेपाली आफ्नै गलत स्वभावका कारण जोखिममा छन् । अनुशासनमा नबस्ने, सरकारको निर्देशन पालना नगर्ने, छुट्टी भयो भनेर घुम्न निस्कने, पार्टी गर्ने गर्छन् । त्यसबाट जोगिन सक्दा संक्रमणको जोखिम छैन । 

धेरै नेपाली नेपाल फर्कन चाहन्छन् । किनभने यहाँको लकडाउन कहिलेसम्म चल्छ ? यकिन छैन । तर, नेपालले सबै हवाई यात्रा बन्द गरेकाले नेपाल जान सम्भव छैन । विपत्तिको वेलामा आफ्नो देश फर्कन नपाउँदा धेरै दुःखी छन् । यहाँको दूतावासले कोरोना संक्रमणको आशंका लागे सम्पर्क गर्नू भनेर हटलाइन उपलब्ध गराएको छ । अहिले छुट्टी दिइएकाले कामविहीन भएका छौँ । तर, यहाँको श्रम मन्त्रालयले कुनै पनि कामदारको एक दिनको पनि तलब नकाट्नु भनेर रोजदारदाता कम्पनीलाई सूचित गरेको छ । सरकारले कामदारसँग लिने गरेको लेबी छुट गरेको छ ।

उमेर हेरेर उपचारमा भेदभाव देखियो : गोपाल रेग्मी, स्पेन, बार्सिलोना

युरोप यतिवेला कोरोना प्रभावको केन्द्र बनेको छ । इटालीपछि स्पेनमा धेरै मानवीय क्षति भइरहेको छ । स्पेनको राजधानी मड्रिड बढी प्रभावित छ । स्पेनभर करिब १० हजार नेपाली छन् । धेरैजसो बार्सिलोनामा बस्छन् । अहिलेसम्म कुनै पनि नेपाली कोरोना संक्रमित छैनन् । तर, पछिल्लो समय सिंगै स्पेनमा संक्रमण फैलिँदै गएकाले चिन्ता बढाएको छ ।

संक्रमण फैलिँदै जाँदा यहाँको सरकारले लकडाउनको मिति बढाएको छ । पहिलो चरणमा १५ दिनका लागि स्पेन लकडाउन थियो । तर, पुनः १५ दिन अर्थात् आगामी १२ अप्रिलसम्म थपिएको छ । यहाँको अवस्था कतिसम्म बिग्रिएको छ भने अस्पतालमा कार्यरत नर्सहरू र सुरक्षाकर्मीले रुँदै हात जोडेर मानिसहरूलाई घरभित्र बस्न अनुरोध गरिरहेका छन् ।

त्यस्ता भिडियो अहिले भाइरल भएका छन् । तैपनि, मानिस बाहिर निस्किरहेका छन्, घुमिरहेका छन् । शनिबारसम्म त्यस्ता ३१ हजार नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । तीमध्ये ६ सयलाई आर्थिक जरिवाना तिराइएको छ । मलाई जानकारी भएसम्म नेपालीले भने यहाँको सरकारको नियम तोडेको छैनन् ।

अधिकांश रेस्टुरेन्ट, बार, पबमा काम गर्ने र ती बन्द रहेकाले घरमै बसिरहेका छन् । संकट लम्बिँदै जाँदा खाद्यान्नको अभाव भोग्नुपर्ने समस्या आउन सक्ने देखिएको छ । विशेषगरी, हालसालै यहाँ आएका तथा पर्मानेन्ट जागिर नभएका नेपालीलाई त्यस्तो समस्या पर्न सक्छ । सम्भावित समस्यालाई मध्यनजर गर्दै एनआरएनए स्पेनले १ अप्रिलपछि पनि संकटकाल लम्बिए त्यस्ता नेपालीको पहिचान गरेर पाँच केजी चामल, दाल, नुनलगायत खाद्यवस्तुको प्याकेज तयार गरी वितरण गर्ने घोषणा गरेको छ । 

लेगानेस भन्ने स्थानमा उपचारका क्रममा बेड अभाव देखिएको छ । उपचारका लागि पुगेका आफ्ना ६६ वर्षीय पतिले अक्सिजन बेड नपाएको, तर ४४ वर्षका अर्का बिरामीलाई उपलब्ध गराइएको भन्दै एक महिलाले भिडियो सार्वजनिक गरेकी छिन् । सो भिडियो हेर्दा ज्येष्ठ नागरिकभन्दा उमेरदारलाई जोगाउनेतिर लागेको देखिन्छ । स्थिति भयावह हुँदै गए नेपालीमा पनि संक्रमण बढ्न सक्ने र त्यस्तो वेला उपचारमा यस्ता विभेद भोग्नुपर्ने अवस्था आउन सक्छ । 

आफ्नोभन्दा नेपालमै रहेका नेपालीबारे चिन्तित छन् :  आङछिरिङ शेर्पा, अमेरिका, न्युयोर्क

२२ मार्च बेलुकाबाट न्युयोर्क सिटी लकडाउन छ । अत्यावश्यक ठाउँबाहेक सबै बन्द गरिएको छ । विगत चार दिनदेखि संक्रमण बढेपछि यहाँका गभर्नर कुमोले लकडाउनको घोषणा गरेका हुन् । त्यसअघि गत साताबाटै सिंगै अमेरिकामा संकटकाल घोषणा गरिएको थियो । त्यसयता नै सबैजना घरभित्रै छन् । यहाँ रहेका करिब डेढ लाख नेपाली पनि घरभित्रै बसिरहेका छन् । किनमेल गर्न जान पनि मुस्किल परेको छ । संक्रमण कति दिन लम्बिने हो भन्ने चिन्ताले सताएको छ । 

अत्यावश्यक सेवामा कार्यरतबाहेक अधिकांश नेपाली अहिले बेरोजगार छन् । तर, तत्कालै समस्या देखिएको छैन । कमाएको पैसा जोगाउने संस्कारका कारण पनि यो संकट केही महिना अझै लम्बिए पनि नेपालीले धान्न सक्छन् ।

अमेरिकनहरूको हकमा त्यो लागू हुँदैन । उनीहरू तत्काल समस्यामा पर्छन् । तर, संकट सोचेभन्दा बढी समयसम्म लम्बियो भने नेपालीहरू पनि समस्यामा पर्नेछन् । यहाँ कोठाभाडा महँगो छ । खाद्यवस्तु पनि महँगो छ ।

त्यसैले यहाँका गभर्नर कुमोले घरभाडा र बैंकको ऋणमा राहतको घोषणा गरेका छन् ।यहाँ रहेका नेपालीलाई यतिवेला आफ्नोभन्दा नेपालमा रहेका आफन्तको बढी चिन्ता छ । यहाँ बलियो सरकार छ । नेपालमा कोरोना संक्रमण फैलियो भने भयावह हुने हो कि भन्ने चिन्ता छ । त्यसैले प्रधानमन्त्री, मन्त्रीहरू र सम्पूर्ण जनप्रतिनिधिले गम्भीर र चनाखो भएर जनताको सुरक्षातर्फ ध्यान दिऊन् भन्ने चाहेका छौँ ।

दूतावासको गतिविधि शून्य छ: निरञ्जन गोतामे, डेनमार्क, कोपनहेगन

नेपालमा मेरो घर गोंगबु, बानियाँटार हो । डेनमार्कमा पढ्दै छु । मास्टर्सको थेसिस सकिन लाग्यो । यहाँ पार्सियल लकडाउन छ । स्कुल, कलेज, युनिभर्सिटी बन्द छन् । हामी अनलाइनबाट पढिरहेका छौँ । २३ तारिखबाट सार्वजनिक यातायात सेवा केही कटौती गरिँदै छ । सार्वजनिकस्थलमा आउजाउ घटेको छ । डेनमार्कको आधिकारिक रेकर्डअनुसार १३ सय ९५ जना कोरोना संक्रमित छन् । तीमध्ये १३ जनाको ज्यान गइसकेको छ । अहिलेसम्म यहाँ रहेका नेपाली सुरक्षित छौँ । 

विद्यार्थी, पर्मानेन्ट र डिपेन्डेन्ट गरी जम्माजम्मी पाँच हजारजति नेपाली डेनमार्कमा छन् । तीमध्ये ९० प्रतिशत होटेल तथा रेस्टुरेन्टमा काम गर्छन् । होटेल–रेस्टुरेन्ट बन्द भएकाले त्यहाँ काम गर्ने विद्यार्थीलाई बढी असर परेको छ । भर्खरै आएका विद्यार्थी अझ बढी मारमा छन् । कलेज शुल्क महँगो छ । खान–बस्न उस्तै महँगो छ । विद्यार्थीले महिनामा ८० घन्टाभन्दा बढी काम गर्न पाउँदैनन् । पार्सियल लक डाउनका कारण त्यो काम पनि कटौती भएको छ । त्यसैले उनीहरू समस्यामा छन् । 

५० जनाभन्दा बढी कामदार भएका ठूला कम्पनीले आधारभूत तलब उपलब्ध गराउने गरी यहाँको सरकारले व्यवस्था मिलाएको छ । सरकारले ९० प्रतिशत र रोजगारदाताले १० प्रतिशत रकम खर्चेर त्यस्ता कामदारलाई तलब दिन्छन् । तर, अधिकांश होटेल, रेस्टुरेन्टमा ५० भन्दा कम कामदार हुने भएकाले तिनको अवस्था के हुन्छ भन्ने अन्योल छ । यहाँ रहेको नेपाली दूतावासले नेपाली समुदायको अप्ठ्यारो फुकाउन खासै केही पहल गरेकोजस्तो लाग्दैन । केही दिनअघि आफ्नो फेसबुक पेजमा कोरोना भाइरससम्बन्धी सूचना राखेको थियो । अरू गतिविधि शून्य छ । बरु, यहाँको प्रहरीले लगातार सूचना दिइरहेको छ । 

नयाँ विद्यार्थीलाई खान–बस्न समस्या छ : नरेश गौतम, अस्ट्रेलिया, सिड्नी

संक्रमितको संख्या बढ्दै गएपछि साउथ वेल्स स्टेटले २४ तारिखबाट लकडाउन गर्दै छ । अत्यावश्यकीय सेवा मात्र खुला गर्ने गरी लकडाउन हुन लागेको छ । यहाँ एक लाखजति नेपाली छौँ ।

ती अधिकांशले रोजगारी गुमाएका छन् । किनभने, रेस्टुरेन्ट, बार, पब सबै बन्द भइसकेका छन् । रोजगारी गुमेपछि नेपाली विद्यार्थीले समूह बनाएर यहाँको सरकारसमक्ष भाडा मिनाहाका लागि अनुरोध गरेका थिए ।

सरकारले पनि घरधनीलाई भाडामा कडाइ नगर्न भनेको छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सार्वजनिक भने गरेको छैन । हालसालै यहाँ आएका विद्यार्थी ठूलो मारमा परेका छन् ।

नेपालबाट पैसा ल्याएका हुँदैनन् । यहाँ खान–बस्न समस्या भएको छ । एनआरएनए अस्ट्रेलियाले त्यस्ता विद्यार्थीलाई खाद्यान्न उपलब्ध गराउने भनेको छ । तर, कहिले हो, टुंगो छैन । अधिकांश डिपार्टमेन्टल स्टोरमा खाद्यान्न सकिइसकेको छ । बाँकी रहेका ठाउँमा मूल्य दोब्बर बढाइएको छ । अहिलेसम्म कुनै नेपालीलाई संक्रमण देखिएको छैन । संक्रमणको डर त छँदै छ, यो संकट लम्बिए कसरी जुध्ने भन्ने समस्या छ । त्यसपछि आर्थिक क्षेत्रमा पर्ने असरको चिन्ता पनि नेपालीमा बढी नै देखिन्छ । 

नेपाल फर्कन नपाउँदा चिन्तित छौँ :  अमृत पौडेल, सिंगापुर

सिंगापुरको नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीमा पिएचडी गर्दै छु । चीनको वुहानमा देखिएको केही दिनपछि नै यहाँ कोरोनाको संक्रमण देखिएको थियो । त्यसैले सुरुमा सिंगापुर अस्तव्यस्त थियो । तर, अहिले सम्हालिएको छ । अवस्था सामान्य छ ।

अहिले यहाँको डिजिज आउटब्रेक रेस्पोन्स सिस्टम कन्डिसन (डोस्कोन) लेभल अरेन्ज छ । अर्थात्, रातोभन्दा एक लेभल तलको अवस्था छ । चार सय ५५ जनामा संक्रमण देखिएको थियो । अहिलेसम्म दुईजनाको मृत्यु भएको छ । संक्रमणको दर पछिल्लो सातादेखि बढिरहेकाले चिन्ता बढेको छ । त्यसैले सरकारले केही कडाइ सुरु गरेको छ । २३ मार्च राति १२ बजेबाट टुरिस्ट भिसा र ट्रान्जिट बन्दको घोषणा गरिएको छ । 

सिंगापुर पुलिस फोर्समा दुई हजार नेपाली कार्यरत छन् । उनीहरूका परिवार, दुईवटा विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी जोड्दा करिब सात हजार नेपाली यहाँ छौँ । हामी कसैलाई पनि अहिलेसम्म संक्रमण भएको छैन । सुपरमार्केटहरू खुला छन् । तर, सामान किन्न कोटा तोकिएको छ । यहाँ नेपाली दूतावास छैन । थाइल्यान्डमा रहेको नेपाली दूतावासले हेर्ने गरेको छ ।

थाइल्यान्ड जान भिजा चाहिने भएकाले बरु नेपाल गएर समस्या समाधान गर्न सजिलो छ । पछिल्लो समय संक्रमण बढ्दै जाँदा यहाँ रहेका विद्यार्थी चिन्तित बनेका छन् । अवस्था असामान्य बन्दै गयो भने नेपाल फर्कन पनि नपाइने भयो भनेर आत्तिएका छन् । 
 

सुझावित समाचार