काठमाडौं/ काठमाडौंमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ९ लाख ६० हजार ५०० रुपैयाँ नगदसहित अमेरिकी डलर, भारतीय रुपैयाँ र कौडा बरामद गरिएको छ।
प्रहरी परिसर भद्रकालीबाट खटिएको टोलीले मंसिर ४ गते राति करिब ९ः३० बजे काठमाडौंको मैपीस्थित एक घरमा छापा मार्दा उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो।
प्रहरीका अनुसार घटनास्थलबाट नेपाली रुपैयाँ ९ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र कौडा १६ थान बरामद गरिएको छ।
पक्राउ पर्नेमा नीरज निरौला, वसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कँडेल, माधव बिष्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव भट्ट, सन्दीप पौडेल, सुनील श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम, आनन्दराज त्रिपाठी र अनिल सिलवाल रहेका छन्।
पक्राउ परेका सबैमाथि जुवा खेल्न वा खेलाउन नहुनेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।