काठमाडौं/ शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको बताउँदै आगामी दिनमा प्रतियोगितालाई नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाली खेलकुद क्षेत्रमा सिर्जना गरेको उत्साहलाई निरन्तरता दिँदै १०औँ राष्ट्रिय खेलकुदलाई भव्य र ऐतिहासिक बनाउन तयारी भइरहेको बताएका हुन्।
प्रतियोगिताका मुख्य खेलहरू मंसिर ८ गतेदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा गरिने कार्यक्रम छ।
मन्त्री पोखरेलले वि.सं. २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य रहे पनि हालसम्म नौवटा संस्करण मात्रै सम्पन्न हुनुलाई दुःखद अवस्था भनेका छन्। विगतमा देखिएका ढिलासुस्ती र विभिन्न अवरोध अन्त्य गर्दै प्रतियोगितालाई निर्धारित समयमा नियमित आयोजना गर्ने उनको प्रतिबद्धता छ।
उनका अनुसार राष्ट्रिय खेलकुदलाई निरन्तरता दिनुका साथै नेपाली खेलकुदको समग्र स्तर सुधार गर्नु सरकारको प्राथमिकतामा रहेको छ। खेलकुदलाई बलियो राष्ट्रिय संस्कृतिका रूपमा विकास गर्दै व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्न आवश्यक रहेको उनले बताएका छन्।
१०औँ राष्ट्रिय खेलकुदलाई ऐतिहासिक र सफल बनाउन खेलाडी, खेलप्रेमी तथा सम्पूर्ण सरोकारवालाको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले सबैलाई प्रतियोगितामा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।