‘पैसा डबल’ स्क्याममा रजकबाट ठगिएकालाई प्रमाणसहित सम्पर्कमा आउन प्रहरीको आग्रह

आइतबार, ६ मंसिर, २०८३
डिजिटल संस्करण

राजविराज । सप्तरीमा ‘पैसा डबल’ गरिदिने प्रलोभन देखाएर ठगी गरेका तिलाठी कोइलाडी गाउँपालिका– ७, बभनगामाका रामबहादुर रजक ‘हनुमानी’बाट ठगिएका पीडितहरूलाई प्रमाणसहित सम्पर्कमा आउन प्रहरीले आह्वान गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार सूचना जारी गर्दै ठगीमा परेका व्यक्तिहरूलाई प्रमाणसहित प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हेमराज घिमिरेद्वारा जारी सूचनामा पीडितहरूलाई आर्थिक कारोबारको प्रमाण, रकम दिएको विवरण तथा अन्य आवश्यक कागजातसहित सम्पर्कमा आउन अनुरोध गरिएको छ।

उदयपुरका एक व्यक्तिले चिनजान रहेका बभनगामाकै ३४ वर्षीय गुञ्जेश सिंहमार्फत रजकलाई ‘पैसा डबल’ गर्ने नाममा पाँच लाख रुपैयाँ दिएका थिए। तर, ‘पैसा डबल’ गर्न अपुग भएको भन्दै फोन गरेपछि उनी थप एक लाख रुपैयाँ बोकेर रजकको घर पुगेका थिए। उनी रजकको घर पुग्नेबित्तिकै मोबाइल खोसेर सम्पर्कविहीन बनाएपछि उनका साथीले प्रहरीलाई खबर गरेका थिए।

गत कात्तिक १७ गते त्यहाँ पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले एक लाख रुपैयाँसहित रजक र सिंहलाई नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताए। सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

‘पैसा डबल’ गरिदिने प्रलोभन देखाएर स्क्याम गरेको आरोपमा रजक यसअघि पनि पक्राउ परेका थिए। उनीविरुद्ध १४ जनाले उजुरी दिएपछि प्रहरीले २१ पुस०८१ मा पक्राउ गरेको थियो। त्यसवेला ११ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनी कारागार चलान भएका थिए। पछि धरौटी रकम बुझाएर उनी रिहा भएका थिए।

सुझावित समाचार