नक्कली शैक्षिक योग्यता प्रकरणमा इन्डोनेसियाका उपराष्ट्रपतिले दिए राजीनामा

शुक्रबार, २७ कार्तिक, २०८३
प्रिन्ट संस्करण

जकार्ता/ इन्डोनेसियाका उपराष्ट्रपति जिब्रान राकाबुमिङ राकाले राजीनामा दिएका छन् । शैक्षिक योग्यता नक्कली भएको चर्चाबिच उपराष्ट्रपति राकाले बिहीबार संसद्समक्ष राजीनामा दिएका हुन् । उनको राजीनामासँगै अर्को व्यक्तिलाई उपराष्ट्रपति नियुक्त गर्ने प्रक्रिया सुरु गराएको छ ।

सन् २०२४ को चुनावी अभियानका क्रममा प्रयोग गरिएका हाईस्कुलका कागजात अवैध रहेको भनी सर्वोच्च अदालतले फैसला गरेपछि उनीमाथि महाभियोग लगाउनुपर्ने माग उठेको थियो ।  उनको यो बहिर्गमन उनका पिता तथा पूर्वराष्ट्रपति जोको विडोडो र बहालवाला राष्ट्रपति प्राबोवो सुबियान्तोबिचको राजनीतिक गठबन्धन कमजोर भइरहेको अवस्थामा भएको हो ।

राकासँगै उभिएर राष्ट्रपति प्राबोवोले पत्रकारहरूलाई आफूले ‘भारी मनका साथ’ उनको राजीनामा स्वीकार गरेको बताए । राष्ट्रपतिद्वारा मनोनयन गरिएका दुई उम्मेदवारमध्येबाट रिक्त पदपूर्ति गर्न माथिल्लो सदनका सांसदसँग ६० दिनको समय हुनेछ । ‘उपराष्ट्रपतिले बलिाये जिम्मेवारी र एक राजनेतामा हुनुपर्ने गुण प्रदर्शन गरेका छन्,’ प्राबोवोले भने ।  उनले यो राजीनामा ‘राष्ट्र, राज्य र इन्डोनेसियाका जनताको हितका लागि’ भएको पनि बताए । ‘उनको पक्का विश्वास छ कि उनले उचित र व्यवस्थित प्रक्रियामार्फत आफ्नो शिक्षा पूरा गरेका हुन् । यद्यपि, हामीले यो बुझ्नुपर्छ कि विदेशका शैक्षिक प्रणाली इन्डोनेसियाका प्रणालीभन्दा फरक हुन्छन्,’ राष्ट्रपतिले भने ।

जिब्रानले चुनावमा उम्मेदवार बन्नका लागि आवश्यक पर्ने शैक्षिक योग्यता (हाईस्कुल तह) पूरा गरेका छन् कि छैनन् भन्ने विषयमा लामो समयदेखि विवाद खेप्दै आएका छन् ।  सिंगापुर र अस्ट्रेलियामा अध्ययन गरेका उनले आफ्नो शैक्षिक योग्यता पुष्टि गर्न इन्डोनेसियाको ‘समकक्षता प्रमाणपत्र’को प्रयोग गरेका थिए ।

इन्डोनेसियाको कानुनअनुसार उपराष्ट्रपति पदका उम्मेदवारले सिनियर सेकेन्डरी स्कुल वा सोसरहको तह पूरा गरेको हुनुपर्छ, तर सर्वोच्च अदालतले जिब्रानले उक्त तह पूरा गरेको (स्नातक भएको) पुष्टि गर्ने कुनै प्रमाण फेला पारेन । अदालतले भन्यो, ‘जिब्रानसँग कुनै विदेशी डिप्लोमा वा प्रमाणपत्र भएको प्रमाण भेटिएन, जसलाई सिनियर हाईस्कुल वा सोसरहको योग्यतासँग दाँज्न (समकक्ष मान्न) सकियोस् ।’

सुझावित समाचार