छठ मनाउन सर्लाही जाँदै गरेका १० जनाको भीमफेदीमा मृत्यु, पाँच घाइते

दुर्घटनामा मृत्यु भएका १० जना र घाइते पाँचैजना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर क्षेत्रका स्थानीय

बिहिबार, २६ कार्तिक, २०८३
डिजिटल संस्करण

मकवानपुर । छठ पर्व मनाउन ललितपुरको टीकाथलीबाट सर्लाही जाँदै गरेका यात्रु भीमफेदीमा भएको इभी दुर्घटनामा परेका छन् । दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका– ६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा बिहीबार बिहान यात्रुवाहक इभी करिब पाँच सय मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक डिएसपी माधव काफ्लेका अनुसार दुर्घटनामा घाइते हुनेमा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव रहेका छन् । उनीहरू सबै सर्लाही जिल्लाका स्थानीय बासिन्दा रहेको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताए ।

प्रहरीका अनुसार उनीहरू छठ पर्व मनाउन ललितपुर जिल्लाको टीकाथलीबाट सर्लाहीतर्फ जाँदै थिए । बिहीबार बिहान करिब ५:४५ बजे टीकाथलीबाट सर्लाहीका लागि छुटेको यात्रुवाहक इभी चिसापानीगढीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मृत्यु भएका १० जना र घाइते पाँचैजना सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४, सुन्दरपुर क्षेत्रका स्थानीय रहेको प्रारम्भिक विवरणमा देखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थल अत्यन्तै भिरालो र दुर्गम क्षेत्रमा रहेकाले उद्धार कार्यमा समेत कठिनाइ भएको प्रहरीको भनाइ छ ।

दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी उद्धार तथा घटनासम्बन्धी थप विवरण संकलन गरिएको छ ।

सुझावित समाचार